समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा गौतम नियुक्त

काठमाण्डौं । मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतम नियुक्त भएका छन् । यस अघिका अध्यक्ष काशीराज दाहालको कार्यकाल सकिएसँगै सरकारले नयाँ अध्यक्ष नियुक्ती गरेको हो । उक्त समितिको कार्यकाल २ बर्षको रहेको छ । सहकारी ऐन २०७४ ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको व्यवस्था गरेको छ । ऐनको परिच्छेद १८ को दफा १०४ मा सहकारी संस्था समस्याग्रस्त घोषणा गर्न सक्ने व्यवस्था छ भने ऐनको दफा १०५ मा व्यवस्थापन समिति गठनको विषय रहेको छ । ऐनमा उच्च अदालतको न्यायाधीश भैसकेको वा सो सरहको पदमा काम गरिसकेको नेपाल न्याय सेवाको विशिष्ट श्रेणीमा काम गरेका व्यक्तिहरु मध्येबाट सरकारले समितिको अध्यक्ष नियुक्ती गर्न सक्ने व्यवस्था छ ।

उक्त समितिमा अध्यक्ष सहित ३ जना सदस्य र १ जना सदस्य सचिव रहन सक्ने व्यवस्था ऐनमा छ । उक्त समितिले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाहरुको सम्पत्ति र दायित्व यकिनगरी पीडित बचतकर्ताको रकम फरफाक गर्ने कानुनी व्यवस्था रहेको छ । हालसम्म सरकारले २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको भए पनि ३ वटा सहकारी संस्थाका सदस्यले मात्र माग दावी गरेको रकम फिर्ता पाएका छन् । ओरेन्टल सहकारीका बचतकर्तालाई जग्गा दिएर समस्या समाधानको लागि पहल हुँदै आएको छ भने अन्य सहकारी संस्थाका पीडित बचतकर्ताको मागदावी गर्ने काम मात्र भएको छ । समितिले प्रभावकारी काम गर्न नसक्दा पीडित बचतकर्ताले समयमा बचत फिर्ता पाउन नसकेको गुनासो गर्दै आएका छन । राजनितिक पहुँचका आधारमा समितिको अध्यक्ष तथा सदस्यहरु नियुक्ती हुने गरेकाले पीडित बचतकर्ताले समयमा आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् । पीडितहरुले कार्यालयलाई व्यवस्थिति गरी आफुहरुले छिट्टै बचत फिर्ता पाउनु पर्ने माग राखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *