सीजी फुड्स भैंसेपाटीमा अज्ञात समूहको तोडफोड
काठमाडौं । चौधरी ग्रुप सञ्चालित सीजी फुड्सपार्क भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ । आज दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि पनि हातपात गरेको प्रवक्ता मधुसूदन पौड्यालले जानकारी दिए । उनका अनुसार सो समूहले कार्यालय तोडफोड गरेको छ भने पुरुष र महिला कर्मचारीमाथि हातपात गरेको छ । फुड्स पार्कमा आउनासाथ उनीहरुले नेपाल सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । चौधरी ग्रुपका व्यवस्थापकहरुप्रति पनि अभद्र व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यहाँ कार्यरत महिला कर्मचारीमाथिसमेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरु प्रतिकारमा उत्रिए जसका कारण आक्रमणकारीहरु त्यहाँबाट पछि हटेका थिए । त्यसलगत्तै आएको प्रहरीले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ । यस घटनालाई लिएर चौधरी ग्रुपले भ्रत्र्सना गरेको छ । पौड्यालले जारी गरेको विज्ञप्तिमा दिनदहाडै भएको आक्रमणको ध्यानाकर्षण गराउँदै कानुनी कारबाहीका लागि सरकारसँग अनुरोध गरिएको छ । १७ जना महिला र पाँच जना पुरुषसहित बस चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई जावलाखेलमा राखिएको छ । नियन्त्रणमा लिएर सोधपुछ भइरहेको ललितपुर प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिए ।
अभियान्ता दुर्गा प्रसाईं समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर बस रिजर्भ गरेर आएका दुर्गा प्रसाईं नेतृत्वको समूहले आक्रमण गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार दुर्गा प्रसाईं नेतृत्वको समूहले सीजी फुड्स पार्कमा आक्रमण गरेको हो । बस रिजर्भ गरेर आएको समूहबारे आफूहरुले अनुसन्धान गरिरहेको ललितपुर प्रहरी प्रमुख प्रज्ज्वल महर्जनले बताए ।
गत साता काठमाडौं महानगरपालिकाले बजार अनुगमनका क्रममा भेटिएका वाइवाइ चाउचाउ परीक्षण गर्दा स्वास्थ्यमा प्रतिकूल असर पार्ने तत्व भेटिएको दाबी गर्दै २ लाख जरीवाना तिराउने निर्णय गरेको थियो । तर चौधरी ग्रुपले भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य नभनेको अवस्थामा महानगरले स्टन्टबाजी गरेको आरोप लगाउँदै आएको छ । प्रसाईं पछिल्लो समय बैंकको ऋण नतिर्ने अभियान चलाउनुका साथै नेता तथा व्यवसायीमाथि व्यक्तिगत लाञ्छाना लगाउने कार्यमा सक्रिय छन् । यसअघि प्रसाईंकै समूहले झापामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शाखा उपप्रबन्धकलाई स्वीकृत भएको ऋण नदिएको भन्दै नियन्त्रणमा लिएको थियो ।