संसारकै गहिरो खाडल, पातालसँग सिधा सम्बन्ध
मेक्सिकोको युकाटन प्रायद्धिपमा रहेको चेतुमल खाडीमा उक्त खाडल रहेको छ । त्यसको नाम चाहीँ टाम जा ब्लू होल हो । यद्यपि अहिलेसम्म वैज्ञानिकहरुले यसको गहिराई मापन गर्न पाएका छैनन् तथापि सुरुवाती गणना अनुसार यो १३८० फिट भन्दा धेरै गहिरो छ । त्यो पनि समुद्री सतहभन्दा मुनि । अर्थात् यसको सिधा सम्बन्ध पातालसँग छ । शोधकर्ताहरु अहिलेसम्म यो खाडलको पिँधसम्म पुग्न नसकेको हुँदा यसको गहिराई अझै धेरै भएको पक्का छ । यसअघि सबैभन्दा गहिरो खाडलको रेकर्ड दक्षिणी चीन सागरमा रहेको ड्रागन होलको नाममा थियो । यो ९ सय ९० फिट गहिरो थियो । जबकि टाम जा ब्लू होल चीनको उक्त खाडल भन्दा ३९० फिट गहिरो छ । अघिल्लो वर्ष डिसेम्बर ६ मा गोताखोरहरुले यस खाडलको खोज गरेका थिए । त्यस बारेको रिपोर्ट यही अप्रिल २९ को फ्रन्टियर्स इन मरिन साइन्स जर्नलमा प्रकाशित भएको छ ।
वैज्ञानिकहरुले यसको गहिराई मापन गर्नका लागि कन्डक्टिभिटी, टेम्परेचर एण्ड डेप्थ प्रोफाइल (सिटिडी) प्रविधिको प्रयोग गरे । यसबाट समुद्रभन्दा मुनिको सतहको रियल टाइम डेटा प्राप्त हुन्छ र ब्लुहोलको गहिराई नापिन्छ । यद्यपि यो खाडलको पिँधसम्म गोताखोर वा सबमरिन पुग्न सकेका छैनन् । सिटिडी प्रोफाइलरबाट यो खाडलमा विभिन्न गुफा तथा सुरुंगहरु प्नि रहेका पत्ता लागेको छ । ती गुफा तथा सुरुंगहरु आपसमा जोडिएका छन् । त्यहाँ तापक्रम तथा नुनको मात्रा क्यारेबियन सागरकै जस्तो छ । ब्लू होल अर्थात् सिंक होल । यो पानीभित्र हुन्छ र जमिनमा ठाडो खाडल हुन्छ । यस्तो खाडल मुनिपट्टि सुरुंगको जालसँग जोडिएको हुन्छ र कहिलेकाहीँ त्यस्ता सुरुंगहरु न्हुन पनि सक्छन् । यी खाडलको पिँधमा आमरुपमा चुनढुंगा, मार्बल तथा जिप्सन पाइन्छ । यस्तै एउटा प्रसिद्ध ब्लू होल बहमासको डिन्स ब्लू होल पनि हो । त्यस्तै इजिप्टको दहाब ब्लु होल तथा बेलिजको ग्रेट ब्लू होल पनि विश्वका अन्य चर्चित ब्लु होल हुन् । वैज्ञानिकहरुका अनुसार विश्वको सबैभन्दा गहिरो भनिएको मेक्सिकोको उक्त खाडलको वास्तविक गहिराई पत्ता लगाउनमा केही समय अझै लाग्नसक्छ । किनकि विद्यमान यन्त्रहरु त्यसको पिँधसम्म पुग्न सक्दैनन् । सिटिडी प्रोफाइलर १६ सय ४० फिटसम्म जानसक्छ तर पानीभित्रको तरंगका कारण त्यसको तार टुट्ने खतरा भएकाले त्यसलाई खाडलको पिँधसम्म नपूराई १३ सय ८० फिटबाटै बाहिर निकालिएको थियो ।