नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नलाई बचाउने काममा नलाग्न सरकारलाई चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नलाई बचाउने काममा नलाग्न सरकारलाई चेतावनी दिएको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा संलग्नलाई बचाउन सरकार नै उद्यत भएको बताउँदै चेतावनी दिइएको बताए । सहकारी ठगीलाई बचाउन सरकार लागेको छ । सरकारलाई चेतावनी दिएका छौँ– यस्तो ठगी बचाउने काम सरकारले नगरोस् । उनले संसदीय समिति गठनको मागमा आफूहरु झनै अडिग रहेको बताउँदै सभामुखले पनि तटस्थता कायम गर्न नसकेको निष्कर्ष निकाल्दै ध्यानाकर्षण गराउने जनाए ।
हिजोको संसद् बैठक सञ्चालनलाई लिएर हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । संसदीय मूल्य र मान्यतामा विपक्षी दल उभियो भने पनि संसद् अवरोध मानिन्छ । एकजना मात्रै माननीय उभिए पनि अवरोध मानिन्छ है भन्ने मान्यता स्थापित छ । विपक्षीसहित सबै विपक्षमा रहेका दलका सांसदहरु उभिएका बेला संसद् सञ्चालन उचित थिएन । सभामुखको पद तटस्थता र निष्पक्षताको पद हो । सभामुख निर्वाचित भएपछि संलग्नता स्थगित गर्नुपर्छ । सभामुखलाई तटस्थता र निष्पक्षतासहित बैठक सञ्चालन गर्न आह्वान गरेका छौँ । कांग्रेसले सभामुखको हिजोको कदम तटस्थताभन्दा बाहिर रहेको निष्कर्ष निकालेको छ ।