नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०।०८१ को तेस्रो समीक्षा शुक्रबार सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएको छ । समीक्षामार्फतबैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिएको छ । ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।
हेर्नुहोस मौद्रिक नीतिको तेस्रो समीक्षाको पूर्णपाठ ः
आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा
पृष्ठभूमि
१ं नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम मूल्य एवम्शोधनान्तर स्थिरता र वित्तीय स्थायित्व कायम गर्ने मूलभूत उद्देश्यका साथ आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति
२०८० साउन ७ गते सार्वजनिक गरिएको थियो । मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाहरुका कार्यान्वयन स्थितिको त्रैमासिक रुपमा समीक्षा गर्न र समय सापेक्ष परिमार्जन गर्न मौद्रिक
नीतिको पहिलो त्रैमासिक समीक्षा २०८० मंसिर २२ मा र अद्र्धवाषर््िाक समीक्षा २०८० माघ २९ मा गरिएको थियो ।
२. राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । उक्त तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷८१ को कुल
गार्हस्थ्य उत्पादन वृद्धिमा खासगरी आवास तथा खाद्य सेवा, विद्युत तथा ग्यास र यातायात तथा भण्डारण उपक्षेत्रको विस्तारले सकारात्मक प्रभाव पारेको छ । तर, निर्माण र औद्योगिक उत्पादन उपक्षेत्र भने यो वर्ष पनि संकुचनमा गएको देखिन्छ । समग्रमा वास्तविक क्षेत्रका पछिल्ला परिसूचकहरु अघिल्लो वर्षको तुलनामा केही सुधार भएका छन् ।
३. आर्थिक वर्ष २०८०÷८१ को नौ महिनाकोअवधिसम्ममा मूल्य स्थितिमा भएको सुधारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतकोलक्षित सीमाभित्रै रहने अनुमान छ । चालु खातामा भएको सुधार र शोधनान्तर बचतमा भएको वृद्धिले बाह्य क्षेत्र थप सृदुढ हुँदैगएको छ । बाह्य क्षेत्रमा भएको सुधारले बैंकिङ्ग क्षेत्रको तरलता बढ्न गई अल्पकालीन तथा दीर्घकालीन ब्याजदरहरु घट्दै गएका छन् । यस अवधिमा आयात घटेको र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा कम दरमा विस्तार भएको छ ।
४. उपर्युक्त पृष्ठभूमिमा चालु आर्थिक वर्षको नौमहिनासम्मको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति, मौद्रिक नीति तथा यसका त्रैमासिक समीक्षाहरुमार्फत गरिएका नीतिगत व्यवस्थाहरुको कार्यान्वयन स्थिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवम् परिदृश्यको विश्लेषण समेतका आधारमा मौद्रिक नीतिको यो तेस्रो त्रैमासिक समीक्षा गरिएको छ । मौद्रिक नीतिको तेस्रो त्रयमाससम्मको कार्यान्वयन स्थिति
५. आर्थिक वर्ष २०८०÷८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने गरी मौद्रिक व्यवस्थापन गरिने नीति लिइएकोमा पहिलो नौमहिनामा औसत उपभोक्ता मुद्रास्फीति ५.९२ प्रतिशत कायम भएको छ । वार्षिक बिन्दुगत आधारमा २०८० चैतमाउपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ ।
६. चालु आर्थिक वर्षमा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८० चैत मसान्तमा १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम भएको छ ।
७. चालु आर्थिक वर्षमा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा २०८० चैतमसान्तमा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १२.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले वृद्धि भएको छ । निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर कमजोर रहेको छ ।
८. २०८० चैतमा बैंक तथा वित्तीय संस्थाहरुको भारित औसत अन्तरबंैक दर ३.१० प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर ७.०१ प्रतिशत रहेको थियो । तरलता व्यवस्थापनलाई प्रभावकारी बनाइ मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा रहेको भारित औसत अन्तरबैंक दरलाई ब्याजदर करिडोरभित्र कायम राख्ने अभिप्रायले २०८० फागुनबाट स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याइएको छ । वित्तीय तथा बाह्य क्षेत्रसम्बन्धी नीतिहरुको कार्यान्वयन स्थिति ।
९. आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति र यसका त्रैमासिक समीक्षाहरुमार्फत गरिएका वित्तीय क्षेत्रसँग सम्बन्धित अधिकांश नियामकीय व्यवस्थाहरु कार्यान्वयनमा आएका छन् । बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्धती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्धती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा कम्तिमा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । कर्जा प्रवाहलाई सहजीकरण गर्न कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु.२ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने, रियल स्टेट कर्जा र रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाउने र रु.५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात खुकुलो बनाउनेसम्बन्धी व्यवस्थाहरु कार्यान्वयन गरिएका छन् ।
१०. विदेशी विनिमय व्यवस्थापन अन्तर्गत मौद्रिक नीतिमा उल्लिखित अधिकांश नियामकीय व्यवस्थाहरु कार्यान्वयनमा आएका छन् । विदेशी लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन गरिएको छ ।
विश्व अर्थतन्त्रको स्थिति र परिदृश्य
११. विश्वका प्रायः सबै केन्द्रीय बैंकहरुले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिका कारण पछिल्ला बर्षहरुमा मुद्रास्फीति घट्दै लक्षित सीमाको नजिक पुग्ने क्रममा रहेको छ । तर, धेरै जसो केन्द्रीय बैंकहरुले कसिलो मौद्रिक नीतिलाई भने कायमै राखेका छन्। रुस–युक्रेन युद्ध जारी रहेको तथा मध्यपूर्व र रेड सी क्षेत्रमा भू–राजनीतिक तनाब सिर्जना भएकोले विश्व अर्थतन्त्रमा चुनौती र अनिश्चितता भने कायमै रहेको छ ।
१२. सन् २०२२ मा ३.५ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२३ मा ३.२ प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ ।ज्ञ सन्२०२४ मा पनि विश्व अर्थतन्त्र ३.२ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण रहेको छ । कोषका अनुसार सन् २०२२ मा २.६ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा १.६ प्रतिशतमा सीमित भएको र सन्२०२२ मा ४.१ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा ४.३ प्रतिशतले वृद्धि भएको अनुमान रहेको छ । सन् २०२४ मा विकसित अर्थतन्त्रको वृद्धिदर १.७ प्रतिशत र उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर ४.२ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।
१३. सन् २०२३ मा छिमेकी मुलुकहरु भारत र चीनको अर्थतन्त्र क्रमशः ७.८ प्रतिशत र ५.२ प्रतिशतले विस्तार भएकोअनुमान छ । यस्तो वृद्धिदर सन्२०२४ मा क्रमशः ६.८ प्रतिशत र ४.६ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।
१४. विश्व अर्थतन्त्रको उपभोक्ता मुद्रास्फीति सन् २०२३ मा ६.८ प्रतिशत रहेकोअनुमान गरिएकोमा सन् २०२४ मा ५.९ प्रतिशत र सन् २०२५ मा ४.५ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । विकसित अर्थतन्त्रको मुद्रास्फीति सन्२०२३ मा ४.६ प्रतिशत रहेकोमा सन्२०२४ मा २.६ प्रतिशत हुने कोषको प्रक्षेपण छ । त्यसैगरी, उदीयमान तथा विकासशील अर्थतन्त्रको मुद्रास्फीति सन् २०२३ मा ८.३ प्रतिशत रहेकोमा सन् २०२४ मा पनि ८.३ प्रतिशत नै हुने प्रक्षेपण रहेको छ । छिमेकी मुलुक भारत र चीनको सन्२०२३ मा औसत मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत र ०.२ प्रतिशत रहेको छ । सन्२०२४ मा भारत र चीनको मुद्रास्फीति क्रमशः ४.६ प्रतिशत र १.० प्रतिशत रहने कोषको प्रक्षेपण छ ।
आन्तरिक आर्थिक तथा वित्तीय स्थिति मुद्रास्फीति
१५. चालु आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा नेपालको मुद्रास्फीतिमा उल्लेख्य सुधार भएको छ । २०८० चैतमा वार्षिक बिन्दुगत आधारमा खाद्यान्न समूहको मूल्यवृद्धि ५.२१ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.१४ प्रतिशत रही समग्र उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत कायम रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो समूहको मूल्य वृद्धि क्रमशः ६.९३ प्रतिशत र ८.४२ प्रतिशत रही समग्र उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत कायम रहेको थियो । साथै, २०८० चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.५९ प्रतिशत रहेको थियो ।
बाह्य क्षेत्र
१६. चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धि र आयातमा आएको संकुचनका कारण शोधनान्तर बचत बढ्न गई बाह्य क्षेत्र सुदृढ रहेकोछ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा चालु खाता रु.१७९ अर्ब ४८ करोड र शोधनान्तर रु.३६५ अर्ब १६ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु.६० अर्ब ४३ करोडले घाटामा र शोधनान्तर रु.१७४ अर्ब २८ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर बचत उल्लेख्य बढेका कारण विदेशी विनिमय सञ्चिति बढ्न गई २०८० चैत मसान्तमा रु.१९ खर्ब ११ अर्ब ८६ करोड (अमेरिकी डलर १४ अर्ब ३६ करोड) बराबर पुगेको छ ।
१७. आर्थिक वर्ष २०८०÷८१ को नौमहिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार १८.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वस्तु निर्यात ३.७ प्रतिशतले घटेको छ भने वस्तु आयात २.८ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह भने १९.८ प्रतिशतले बढेर रु.१० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ ।
सरकारी वित्त
१८ नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०८०÷८१ को नौमहिनासम्ममा चालु खर्च रु.६४४ अर्ब ३ करोड, पँुजीगत खर्च रु.९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च रु.१६७ अर्ब ९९ करोड गरी नेपाल सरकारकोकुल खर्च रु.९०९ अर्ब ३९ करोड भएको छ । यस अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.७४८ अर्ब ४ करोड भएको छ । समीक्षा अवधिमा सरकारी खर्च गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले घटेको छ भने राजस्व परिचालन ९.४ प्रतिशतले बढेको छ ।
१९. नेपाल सरकार, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ को नौ महिनासम्ममा नेपाल सरकारले रु.१७६ अर्ब आन्तरिक र रु.६२ अर्ब ९४ करोड बाह्य गरी कुल रु.२३८ अर्ब ९४ करोड ऋण परिचालन गरेको छ ।
मौद्रिक तथा वित्तीय क्षेत्र
२०. समीक्षा अवधिमा शोधनान्तर बचत उल्लेख्य बढेकोतर कर्जा प्रवाहमा शिथिलता कायमै रहेकोले मौद्रिक तरलता बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा विस्तृत मुद्राप्रदाय १२.३ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ९.९ प्रतिशत रहेको थियो । २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको वार्षिक बिन्दुगत निक्षेप वृद्धिदर १२.५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११.० प्रतिशतले रहेको थियो । त्यसैगरी, २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर ४.९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको चैत मसान्तमा यस्तो वृद्धिदर ३.२ प्रतिशत रहेको थियो ।
२१. बैंकिङ्ग प्रणालीमा अधिक तरलता रहेसँगैसमीक्षा अवधिमा तरलता प्रशोचनका उपकरणहरुको प्रयोग बढेको छ । समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत रु.६९३ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.८६८ अर्ब ३५ करोड गरी कुल रु.१५ खर्ब ६१ अर्ब ४० करोड ( कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।
२२. बैंकिङ्ग प्रणालीमा तरलता स्थिति सहज रहेकोले अल्पकालीन एवम् दीर्घकालीन ब्याजदरहरु घटेका छन ्। २०७९ चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत दर ९.७४ प्रतिशत रहेकोमा२०८० चैतमा ३.०० प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको भारित औसत अन्तरबैंक दर २०७९ चैतमा ७.०१ प्रतिशत रहेकोमा २०८० चैतमा ३.१० प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७९ चैतमा १०.४८ प्रतिशत रहेकोमा २०८० चैतमा ८.५१ प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.५५ प्रतिशत रहेको छ । २०७९ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.२६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.८४ प्रतिशत रहेको थियो ।
आन्तरिक आर्थिक तथा वित्तीय स्थितिको समीक्षा र परिदृश्य
२३. आर्थिक वर्ष २०८०÷८१ मा कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले विस्तार हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । मौसमी अनुकूलता, रासायनिक मलको आपूर्ति सहजता एवम् साना सिंचाईको निर्माण र स्तरोन्नतिले वर्षे तथा हिउँदे बालीको उत्पादन सन्तोषजनक रहन गई समग्र कृषि क्षेत्रको वृद्धिदर सामान्य रहने अनुमान छ ।
२४. अघिल्लो आर्थिक वर्ष ऋणात्मक रहेको उत्पादन र निर्माण उपक्षेत्रको वृद्धिदर चालु आर्थिक वर्ष समेत ऋणात्मक नै रहने अनुमान छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको औद्योगिक उत्पादन सूचकाङ्क अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रयमासमा काठजन्य, डेरी, चिया, सूर्तीजन्य, लत्ताकपडा, औषधीजन्य, धातुजन्य वस्तुहरुको उत्पादन घटेको देखिएको छ । बढ्दो तरलता, घट्दो व्याजदर र निर्माण सामग्रीहरुको मूल्यसमेत घटेकोले सार्वजनिक तथा निजी क्षेत्रबाट निर्माण कार्यले गति लिएमा अर्थतन्त्र थप विस्तार हुनसक्ने देखिन्छ ।
२५. सेवा क्षेत्रतर्फ यातायात तथा भण्डारण उपक्षेत्रको वृद्धिदर उच्च रहने एवम् थोक तथा खुद्रा व्यापार लगायत सवारी क्षेत्रको वृद्धिमा समेत सुधार भई चालु आर्थिक वर्ष समग्र सेवा क्षेत्रको वृद्धि ४.५ प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । पछिल्लो समय कोभिडपूर्व भन्दा पर्यटक आगमन संख्यामा उल्लेख्य विस्तार भएको छ । सन् २०२४ को चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै एक लाख थप पर्यटक भित्रिएका छन ्। यसबाट रोजगारी र आयआर्जनमा टेवा पुग्ने र निर्माणाधीन एवम् निर्माण गर्ने योजनामा रहेका होटललगायत पर्यटन क्षेत्रमा लगानी बढ्ने देखिएको छ । भ्रमण आयसमेत उल्लेख्य बढ्दै गएकोले आउँदा दिनमा आर्थिक गतिविधि चलायमान बनाउन पर्यटन क्षेत्रको योगदान बढ्ने देखिन्छ ।
२६. नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको नौमहिनामा करिव ३५२ मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको तथा ५०० मेगावाटभन्दा बढी जलविद्युत परियोजनाको निर्माण अन्तिम चरणमा रहेका छन ्। यसबाट सुख्खायाममा उर्जा आपूर्ति सुधारभई औद्योगिक क्षमता उपयोग र विस्तार हुने देखिन्छ । साथै, वर्षायाममा थप विद्युत निर्यात भई वार्षिक उर्जाघाटा कम गर्न सहयोग पुग्ने देखिन्छ ।
२७. घरजग्गा कारोबारमा देखिएको शिथिलता, सहकारी क्षेत्रमा देखिएका समस्या, पुँजीगत खर्च अपेक्षित विस्तार हुन नसकेको अवस्था तथा उल्लेख्य संख्यामा युवाहरु वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जानुलगायतका कारणले आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसकेको स्थिति छ । यसले गर्दा नेपालको समग्र आर्थिक वृद्धिदर कम नै रहने देखिएको छ ।
२८. अघिल्लो आर्थिक वर्ष जस्तै चालु आर्थिक वर्ष पनि विप्रेषण आप्रवाह सन्तोषजनक रहेको छ । विप्रेषण आप्रवाहको बढोत्तरीले बाह्य क्षेत्रतर्फको चालु खाता तथा शोधनान्तर बचत कायम गर्न, बैंकिङ्ग प्रणालीको तरलतामा सुधार ल्याउन र ब्याजदर कम गर्न सहयोग पुगेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या र प्रवृत्तिलाई दृष्टिगत गर्दा आगामी महिनाहरुमा पनि विप्रेषण आप्रवाह सन्तोषजनक रहने देखिन्छ ।
२९. चालु आर्थिक वर्षको नौमहिनाको औसत मुद्रास्फीति दर ५.९२ प्रतिशत रहेकोले वार्षिक औसत मुद्रास्फीति लक्षित सीमाभित्रैरहने देखिन्छ । मूल्य स्थितिमा परेको चाप चालु आर्थिक वर्षको सुरुदेखि नै कम हुँदै गएको भएतापनि बाह्य कारणबाट मूल्यमा पुनः चाप पर्ने जोखिम भने रहेको छ । रुस–युक्रेन र मध्यपूर्वमा जारी द्वन्द्वका साथै अन्तर्राष्ट्रिय ढुवानी रुटहरुमा देखिएका व्यवधानहरुका कारण ईन्धन र खाद्य वस्तुको मूल्यमा पुनः दबाब पर्न सक्ने जोखिम छ । तापनि, नेपालले दुई–तिहाईभन्दा बढी व्यापार गर्ने मुलुक भारतमा मुद्रास्फीति घट्दै गएर भारतीय रिजर्भ बैंकको ४ प्रतिशतको लक्ष्य नजिक रहेकोले चालु आर्थिक वर्षको बाँकी अवधिमा नेपालको मुद्रास्फीतिमा चाप नपर्ने अनुमान गरिएको छ ।
३०. २०८० चैत मसान्तसम्ममा नेपाल सरकारको कुल चालु खर्च र पूँजीगत खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमशः ८.९ प्रतिशत र ९.२ प्रतिशतले घटेको तर राजस्व परिचालन भने ९.४ प्रतिशतले बढेको एवम्बजारबाट लक्ष्यकै हाराहारीमा आन्तरिक ऋण समेत परिचालन भएकाले खुद सार्वजनिक वित्त परिचालन संकुचनकारी रहेको छ । नेपाल सरकारको सार्वजनिक खर्च चौथोत्रयमासमा धेरै हुने विगतका प्रवृत्तिको आधारमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा सार्वजनिक खर्च वृद्धि हुने अनुमान छ ।
३१. बाह्य क्षेत्रतर्फ शोधनान्तर बचत उल्लेख्य बढेकोलेबैंकिङ्ग प्रणालीमा अधिक तरलताको स्थिति छ । खासगरी उच्च विप्रेषण आप्रवाह र आयात संकुचनको कारण शोधनान्तर र चालुखाता बचत हुन गई विदेशी विनिमय संचिति बढिरहेको छ । सहज तरलता र न्यून ब्याजदरको अवस्थामा आयातले विस्तारै गति लिँदा बाह्य क्षेत्र परिसूचकहरुमा सामान्य प्रभाव पर्ने आँकलन रहेको छ ।
३२. मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाउँदै लगिएकोले निक्षेप तथा कर्जाका ब्याजदरहरु घटिरहेका छन्। बैंकिङ्ग प्रणालीमा अधिक तरलता रहेतापनि २०८० फागुनदेखि कार्यान्वयनमा ल्याइएको स्थायी निक्षेप सुविधा एवम् अन्य उपकरणमार्फत तरलता व्यवस्थापन गरिएको फलस्वरुप २०८० चैत मसान्तको भारित औसत अन्तरबैंक दर ब्याजदर करिडोरकोसीमाभित्रै रहेको छ ।
३३. आर्थिक गतिविधिमा देखिएको सुस्तताको कारण बंैकिङ्ग प्रणालीमा कर्जा असुली प्रभावित भई निष्क्रिय कर्जा अनुपात केही बढेको छ । २०८० चैतमा बैंक तथा वित्तीय संस्थाहरुको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.९८ प्रतिशत पुगेको छ । यसैबीच, पछिल्लो समय केही ठूला बचत तथा ऋण सहकारी संस्थाहरु समस्याग्रस्त हुँदा औपचारिक वित्तीय मध्यस्थतामा पनि प्रभाव परिरहेको छ । तथापि, बंैकिङ्ग प्रणालीको खुद निष्क्रिय कर्जा न्यून रहेको, खुद तरल सम्पत्ति नियामकीय व्यवस्थाभन्दा उच्च रहेको, समग्रमा पुँजी पर्याप्तता कायम रहेको एवम् पछिल्लो समय लागू गरिएका सुधारका कार्यक्रमहरुको फलस्वरुप वित्तीय क्षेत्र स्थायित्व सवलरहेको छ । ब्याजदर घट्दै गएकोर पर्यटक आगमन बढिरहेका अवस्थामा राजनैतिक स्थिरता सहित तीनै तहका सरकारको पुँजीगत खर्च बढेमा आर्थिक गतिविधिहरुमा सुधार भई कर्जा माग बढ्ने एवम्कर्जा असूलीमा समेत सुधार आउँदै जाने अपेक्षा रहेको छ ।
नीतिगत व्यवस्थाहरु
३४. वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिइएको छ ।
३५. आन्तरिक तथा वाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत राखिएको छ ।
३६. विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।
३७. ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ ।
३८. बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिनेछ ।
३९. बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ ।
४०. बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ ।
४१. बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ ।
४२. घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात Debt Service to Gross Income Ratio लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ ।
४३. चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।
अन्त्यमा,
४४. पछिल्लो आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ । आन्तरिक आर्थिक गतिविधि एवम् मुद्रास्फीतिको अवस्था साथै नेपाल सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेटलाई दृष्टिगत गरी आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति तर्जुमा गर्दा यथोचित व्यवस्था गरिनेछ ।
४५. चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको क्रममा सहयोग पु¥याउने नेपाल सरकारका निकायहरु, मौद्रिक नीति सल्लाहकार समिति, उद्योग व्यवसायसँग सम्बन्धित संघ÷संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु, विद्वत वर्ग, सञ्चार माध्यमलगायत सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै मौद्रिक नीति र यस समीक्षामा गरिएका व्यवस्थाहरुको कार्यान्वयनमा सदाभैmँ सबैको सहयोग रहने यस बैंकको विश्वास रहेको छ ।
४ जेठ २०८१ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *