इप्पानले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना
काठमाडौं । काठमाडौमा भएको इप्पानको २२ औं साधारणसभाबाट नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्धारा इप्पानलाई थिंक ट्यांकको रुपमा विकास गर्न तथा आफ्नै भवनबाट इप्पानका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो । दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रुपमा दुवै कोष स्थापना भएको इप्पानका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले जानकारी दिए । ‘दूरगामी रुपमा प्रभाव पार्ने खालका २ वटा कोषहरुको दूरदृष्टि, उद्देश्य र प्रस्तावित कार्ययोजनासहित कोष स्थापना गरिएको छ, यसले सदस्यहरुलाई संगठित गर्ने, नीतिगत र कार्यक्रमगत लविङ गर्ने तथा विभिन्न खोज अनुसन्धान गर्ने कामहरु अघि बढ्नेछन् । उनका अनुसार, इप्पान सम्पूर्ण ऊर्जा क्षेत्रको नेतृत्वदायी संगठन भएकोले सम्बन्धित क्षेत्रमा अध्ययन गरी आवश्यक तथ्याङ्क, जानकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र विश्लेषणहरु संस्थागत रुपमा संकलन गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो । तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित स्थापना गरिएको कोषको छुट्टै कार्यविधि बनाई अघि बढ्ने लक्ष्य इप्पानको छ ।
ऊर्जा प्रवद्र्धक कम्पनी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र निकायहरुबाट रकम संकलन गर्ने लक्ष्य राखिएको कोषको रकमबाट ऊर्जासँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्य गर्ने लक्ष्य लिइएको छ । इप्पानले ऊर्जा क्षेत्रले, सामाजिक, कुल ग्राहस्थ उत्पादन (जीडीपी), बैंक तथा वित्तिय संस्थाले ऊर्जामा गरेको लगानीको अवस्था, ऊर्जाले रोजगारी सृजनामा र्पुयाएको योगदान, ऊर्जा आयोजनामा सर्वसाधारणको सेयर लगानीको अवस्था, निर्माण सम्पन्न र निर्माणधीन आयोजनाहरुमा देखिएका समस्याहरुको पहिचानसहित ऊर्जासँग सम्बन्धित तथ्य, तथ्यांक र सामाग्रीहरु प्रकाशन लगायतका कार्य गर्ने लक्ष्य राखेको छ । शुक्रबार मात्र घोषणा गरिएको कोषमा इप्पानको २२ औं बार्षिक साधारणसभामा सम्मानित भएका पूर्व ऊर्जा सचिव सुमन शर्माले आफूले ऊर्जा ज्योती सम्मान वापत पाएको १ लाख रुपैयाँमा थप एक लाखसहित २ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यसैगरी यस कोषमा इप्पान सदस्य टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । उनले भवन निर्माण कोषमा पनि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यसैगरी पाँच बर्षभित्र आफ्नै जग्गा खरिद गरेर भवन निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको जग्गा तथा भवन निर्माण कोषका लागि छुट्टै कार्यविधि र भवन निर्माण समिति गठन गरिने कोषाध्यक्ष पन्तले जानकारी दिए ।
‘संस्थाको सदस्य संख्या ऊर्जा क्षेत्रमा भएको महत्वपूर्ण लगानी, सरकारले यसलाई दिएको प्राथमिकता र दीर्घकालीन रणनीतिक वस्तु भएको सन्दर्भमा यसको नेतृत्वदायी सँस्था इप्पानको आफ्नै भवन बनाउनु आवश्यकता रहेकोले कोष स्थापना गरेका हौ । भवन निर्माणका लागि यस अघि इप्पान पूर्व अध्यक्ष डा.सुवर्णदास श्रेष्ठले दुई लाख तथा अन्य विभिन्न स्रोतबाट जम्मा नभएको ३४ लाख रुपैयाँसमेत यसै कोषमा राखिने इप्पानले जनाएको छ । भवन निर्माणका लागि शुक्रवारको वार्षिक साधारणसभामा इप्पान सदस्य कूबेरमणि नेपालले आफ्नो जलविद्युत कम्पनीबाट २ लाख, नविन सिलवालले ठूलो खोला र टक्सार जलविद्युत कम्पनीबाट दुई लाख र इप्पान सदस्य टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ भवन निर्माणको लागि सहयोगको घोषणा गरिसकेका छन् । इप्पान अध्यक्ष गणेश कार्कीले कार्यविधि बनाएपछि इप्पान पदाधिकारी र कार्य समितिबाट दुवै कोषमा सहायता संकलन गर्नुका साथै सबै ऊर्जा प्रवद्र्धक कम्पनीहरुबाट सहायता लिएर अध्ययन अनुसन्धान तथा भवन निर्माणको कार्य अघि बढाउने बताए ।