ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा दिने
काठमाडौं । ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट आँखाको सेवा दिने भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान ख्वप तिलगंगा आँखा अस्पतालले आइतबारबाट आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको हो । नेपाल मजदुर किसान पार्टिका अध्यक्ष नारायणमान बिजुक्छे प्रमुख अतिथि रहेको कार्यक्रममा प्रतिष्ठानका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत, प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङका साथमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतीले एक साथ रिबन काटेर उक्त भवनको उद्घाटन गरेका हुन् । भक्तपुर र त्यस वरपरका मानिसहरुको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै यस आँखा अस्पताललाई तयार गरिएको छ ।
करिब एक दशकदेखि नै भक्तपुर नगरपालिकासँगको सहाकार्यमा सञ्चालनमा रहँदै आएको केन्द्र अहिले नयाँ भवनसँगै थप सुविधासम्पन्न र सशक्त अस्पतालको रूपमा स्तरोन्नति भएको छ । कार्यक्रममा डा. सन्दुक रुइतले भक्तपुरका हरेक नागरिकको पहुँचमा यस आँखा अस्पताल रहेको र कलाकृतिका कौशल शिल्पकाहरूको आँखा स्वास्थ्यमा आफू र संस्था प्रतिबद्ध रहेको जानकारी गराए । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टिका अध्यक्ष नारायणमान बिजुक्छेले सेवा दिने क्रममा सेवाग्राहीलाई प्राथमिकतामा राखी उत्कृष्ट सेवाग्राही अनुभव प्रदान गर्न शुभकामना दिएका छन् । अस्पताल स्थानीय सरकार, सिइङ इज बिलिभिङ, हिमालयन क्याटर्याक्ट प्रोजेक्टसँगको सहकार्यमा सञ्चालित छ । सेवा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध रहनेछ ।