बालकुमारी साकोसको विस्तारित मञ्च सम्पन्न
भक्तपुर । मध्यपुरथिमि ४ मा रहेको बालकुमारीमा बचत तथा ऋण सहकारी संस्थाले संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्व तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ल.(नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा संस्थाले बचत तथा ऋण सम्बन्धी जानकारीमूलक कार्यक्रम तथा विस्तारित मञ्च सम्पन्न गरेको छ । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथि ढकालले हरेक सहकारीकर्मीले सहकारी अभियानको नेतृत्वलाई प्रश्न गर्न छोड्न नहुने धारणा राखे । अग्रजहरुले अथक मेहनत गरेर अघि बढाएको सहकारी अभियानको अहिलेको हालत किन र कसरी हुनपुग्यो भनेर नेतृत्वकर्तालाई सबैले प्रश्न गर्नुपर्ने र त्यसको शुरुवात आफुबाटै गर्न उनले भने । बचतऋण अभियानका लागि २०८१ सुखद बनाउने प्रयत्न गर्ने उनले प्रतिवद्धता जनाए। अतिथिको आसनबाट बोल्दै भक्तपुर बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले संस्थालाई सबल बनाउन सदस्यको प्रमुख भूमिका हुने जनाउँदै संस्थाको गतिविधिमा सक्रियता र सजगता अपनाउन र समुदायमा आधारित संस्थाहरुमा आवद्ध हुन उनले सुझाव दिए ।
कार्यक्रममा बागमती प्रोस्कुन, जिल्ला सहकारी संघ लगायतका प्रतिनिधिले मन्तब्य राखेका थिए भने र थिमी क्षेत्रका सहकारी संस्थाका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो । संस्थाको वित्तीय अवस्था, विभिन्न बचत खाता तथा ऋण प्रवाहको बारेमा संस्थाका कोषाध्यक्ष सुदीप श्रेष्ठले जानकारी दिएका थिए । बैशाख मसान्तसम्म संस्थाको शेयरपुँजी १३ करोड ५४ लाख जगेडा कोषमा ५ करोड ८५ लाख, कुल बचत १ अर्ब ७० करोड २४ लाख, कुल ऋण लगानी १ अर्ब ३२ करोड गरी कुल सम्पत्ति २ अर्ब ४ करोड १६ लाख पुगेको छ । संस्थामा कुल ५५ करोड ७८ लाख अर्थात् ३२.७६ प्रतिशत तरलता रकम रहेको छ । संस्थामा कुल शेयर सदस्य ५ हजार ६६६ जना रहेको मध्ये ६३९ जनाले ऋण उपभोग गरेका छन् । संस्थाको वर्तमान वित्तीय अवस्था, संस्थाले अघि सारेका नयाँ योजना, प्रविधि जस्ता विषयवस्तुबारे सदस्यहरुलाई जानकारी दिने र सदस्यबाट पृष्ठपोषण लिने उद्देश्यले कार्यक्रम गरिएको संस्थाका प्रबन्धक सुजेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रममा संस्थाले प्रयोगमा ल्याएको इन्फिनिटी सफ्टवेयरका प्रतिनिधिले संस्थाले सञ्चालन गरेको मोइबाइ बैंकिङको बारेमा जानकारी दिएका थिए । मोबाइल बैंकिङमा आवद्ध हुन चाहने सदस्यलाई केहि समय निःशुल्क प्रदान गरिने सो अवसरमा जानकारी दिइएको थियो । सभाको सञ्चालन संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले गरेका थिए ।