संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकले संसदीय समितिको टीओआर तयार पार्नेछ । सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार दिउँसो भएको पटक पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो । तर समिति कस्तो बन्ने, जिम्मेवारी के के हुने जस्ता विषयमा सहमति भइसकेको छैन ।
कार्यदलमा कानुनमन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र रास्वपा सांसद खनाल छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ ।