गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ ः सचिव झाँक्री
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको आरोपमा प्रतिक्रिया जनाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले महामन्त्री थापामाथि विभिन्न आरोप लगाएपछि झाँक्रीले आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्ने बताएकी हुन् । आइतबारको संसद् बैठकमा लामिछानेले थापामाथि विभिन्न आरोप लगाएका थिए ।
उनले थापामाथि विदेशीलाई सूचना बेचेकोदेखि कृषि अनुदानको रकम हिनामिना गरेकोसहितका आरोप लगाएका थिए । यसबारे नेतृ झाँक्रीले थापा युवाहरूको राजनीतिक आइकन भएको बताउँदै उनीमाथि लगाइएका आरोपको प्रमाणको भार स्वयंले बोक्नुपर्ने बताएकी हुन् । गगन थापा यो आन्दोलनको नेता हो । युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो, झाँक्रीले सोमबार सामाजिक सञ्जालमा लेखेकी छन्, गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस ”