श्रममन्त्रीले खारेज गरेको निर्णय सर्वोच्चले गर्यो सदर

काठमाडौं । सर्वोच्च अदालतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६’ को कार्यान्वयनमा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

मन्त्रालयले उक्त कार्यविधिमा संशोधन अनुसार कार्यान्वयन नहुने भन्दै विज्ञप्ति जारी गरेको थियो । तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले कार्यविधि संशोधन गर्दै अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई नयाँ मापदण्ड तोकेको थियो । सोही आधारमा संस्थाहरूले भौतिक पूर्वाधार थप गरेका थिए भने तालिम प्रदाय संस्थाहरूले लिँदै आएको शुल्क ७०० बाट बढाएर २८०० पुर्‍याएका थिए ।

तर, वर्तमान श्रममन्त्री डोलप्रसाद अर्यालले कार्यविधि कार्यान्वयन स्थगन गरेर बढेको २८०० शुल्कलाई ७०० नै कायम गर्ने निर्णय गरेका थिए । तर, मन्त्री अर्यालले गरेको उक्त निर्णय सर्वोच्चले उल्ट्याइ दिएको हो । मन्त्री अर्यालको उक्त निर्णयका विरुद्धमा तालिम प्रदायक संस्थाहरू रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तालिम प्रदायकको तर्फबाट मल्टिपल ट्रेनिङ्ग इन्स्टिच्युट प्रालि लगायतले सर्वोच्चमा रिट हालेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मन्त्री अर्यालले गरेको निर्णय यथास्थितिमा राख्नु, कार्यान्वयन नगर्नु/नगराउनु भन्दै अन्तरिम आदेश जारी गरेका हुन् । सर्वोच्चले यो विषयमा श्रम मन्त्रालयलाई १५ दिनभित्रमा लिखित जवाफ निर्देशन दिएको छ ।

तत्कालीन श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने कामदारलाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्ने सम्बन्धमा ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६’ संशोधन (दोस्रो) गरेका थिए । कार्यविधि संशोधन गर्दै ७०० रुपैयाँ शुल्क लिँदै आएको बढाएर २८०० पुर्‍याइएको थियो भने भौतिक पूर्वाधार समेत थप्नुपर्ने भनेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *