दुई सहकारीबाट ग्यालेक्सीमा १५ करोड ऋण

काठमाडौं । सहकारीको बचत रकम अपचलनका डरलाग्दा तथ्यांक आइरहेका छन्, संसदीय छानबिन समितिले दुरुपयोगकर्तालाई कारबाही गराउन सक्छ कि सक्दैन भन्ने आमजिज्ञासा छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागअनुरुप मंगलबार समस्याग्रस्त २० वटा सहकारी र अन्य ९ वटा गरी २९ सहकारीको रकम अपचलनबारे छानबिन गर्नेगरी संसदीय समिति बनेको हो । एमालेका सांसद सूर्यबहादुर थापाको नेतृत्वमा बनेको सात सदस्यीयमा समितिमा एमालेकै सांसद सरिता भुसाल, कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल (राजन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधान छन् । समितिले तीन महिनाको समयसीमा पाएको छ । यही समितिले ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) ले सञ्चालन गरेको गोर्खा मिडिया नेटर्वकले अवैध रुपमा सहकारीको रकम मिडियामा ल्याएर अपचलन गरेकाबारे समेत छानबिन गर्ने छ । जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया ग्रुपअन्तर्गतको ग्यालेक्सी टेलिभिजन बन्द छ । अध्यक्ष जीबी राई फरार छन् । ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । उनको ग्यालेक्सी टीभीमा १५ प्रतिशत सेयर थियो ।

तर, सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको जिकिर लामिछानेले लिँदै आएका छन् । जीबी राई आफैँले खडा गरेका सहकारी संस्थाहरुमार्फत ग्यालेक्सी टीभीमा करोडौँ रकम आएको प्रहरीको अनुसन्धानले खुलाइसेकेको छ । केही सहकारीमाथिको अनुसन्धान अझै जारी छ । जीबी राईको योजनामा सञ्चालन भएका कालिमाटीको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, वीरगंजको सानो पाइला, चितवनको साहारा, बाँकेको समनता र रुपन्देहीको सुप्रिम सहकारीमार्फत ग्योलेक्सी टीभीमा कानुनविपरीत करोडौ रकम आएको पाइएको हो । हाल सुप्रिम र सूर्यदशन सहकारी प्रकणको मुद्दा भने अदालत पुगिसकेको छ । अन्य सहकारीमाथिको अनुसन्धान अझैँ जारी छ ।


हाल अदालत पुगेको विचाराधीन सहकारी पोखराको सूर्यदर्शन र रुपन्देहीको सुप्रिम सहकारीमार्फत् मात्रै ग्यालेक्सी टीभीमा १५ करोडभन्दा बढी रकम पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ । २०८१ वैशाख ३ गते जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले गरेको अभियोजनमा सुप्रिम सहकारीमार्फत १० करोड ९९ लाख ३६ लाख रुपैयाँ ग्यालेक्सी टीभीमा पुगेको देखाएको हो । त्यस्तै पोखराको सूर्यदर्शन सहकारीमार्फत समेत पाँच करोड रुपैयाँ ग्यालेक्सी टीभीमा गएको देखिएको छ । विभिन्न व्यक्तिका नाममा रकम ग्यालेक्सी टीभीमा पुगेको पोखराका एसपी मोहन थापाले जानकारी दिए । यसरी सूर्यदर्शन र सुप्रिम सहकारीमार्फत मात्रै १५ कारोड ९९ लाख ३६ हजार रुपैयाँ ग्यालेक्सीमा पुगेको देखिएको हो । त्यसबाहेक कालिमाटीको स्वर्णलक्ष्मी, वीरगंजको सानो पाइला, चितवनको साहारा, बाँकेको समनता सहकारीमार्फत समेत करोडौं रुपैयाँ ग्यालेक्सीमा गएको देखिएको छ । छानबिन समिति सदस्य दाहालले अब केही दिनभित्रैबाट समितिले काम थाल्ने बताए । हामी परामर्शमा छौँ । समितिको काम छिट्टै सुरु गर्छौँ । समयअवधिभित्रै काम सक्ने गरी गर्छौँ । टीओआर तयार भइसकेकाले अलमल गर्नुपर्ने अवस्था छैन, उनले भने । संसद् बैठक बस्न दुई दिन समय बाँकी भएकाले त्यसअघि नै काम सुरु हुने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *