काठमाडौँको तापक्रम अझै बड्न सक्ने सतर्कता अपनाउन आग्रह
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंमा गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । बुधबार बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ । कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ ।
आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।