हुरीले उडाएको जस्ताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु

पर्सा । हुरीबताससहितको बिहीबारको वर्षाले विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर १०७ वर्षीय वृद्धको ज्यान गएको छ । घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक केशर न्यौपानले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताए ।

हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७, बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन् । उनी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन् । हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ । जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण संकलन जारी रहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *