आजदेखि दुवै सदनमा बजेट छलफल
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आइतबार छुट्टाछुट्टै बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने दुवै सदनको बैठकका निम्ति सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आ.व. २०८१।०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि आर्थिक वर्ष २०८१।०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।