डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाको आग्रह
काठमाडौँ । गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेको संख्या पनि बढ्दै जाने भएकाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।
डेङ्गी बढ्न सक्ने भएकाले महानगर तयारी अवस्थामा छ’, कामपा स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् । उनीले भनिन्, ‘प्रत्येक वडामा नियमित रूपमा सरसफाइको काम भइरहेको छ ।’ डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको महर्जनले बताइन् । सरसफाइ गर्ने कर्मचारी र स्वास्थ्य स्वयंसेविकामार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको उनीको भनाइ छ ।
स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनका अनुसार सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ˗आफ्नो टोलटोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउन, वर्कशप तथा टायर लगायतमा पानी जम्न नदिनका लागि सचेत गराउनुका साथै सरसफाइसमेत गरिरहेका छन् ।
डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षणहरू देखा पर्दछ । टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्नेलगायत लक्षण रहेका स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनले जानकारी दिइन् । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्ने उनीको भनाइ छ ।