प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउँदैनथ्यौंः ओली
काठमाण्डौं । एमाले काठमाडौंको सातौं अधिवेशनलाई शनिबार सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए अहिले एमाले भन्नै नपाउने अवस्था आउने बताएका छन्। अध्यक्ष ओलीले आफूले प्रतिनिधि सभा विघटन नगरेको भए एमालेलाई पनि अन्तै लगेर बुझाइसकेको हुने बताएका हुन्। त्यतिबेला प्रतिनिधि सभा विघटन नगरेको भए आज नेकपा एमाले भन्न पाउँदैनथ्यौं हामीले। यो अन्तै लगेर बुझाइसक्या हुन्थ्यो। दक्षिणपन्थीहरूको पाउमा जसरी सरकार बुझाइयो एमाले पनि बुझाइसक्या हुन्थ्यो । ओलीले आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न, विपक्षीलाई प्रधानमन्त्री बनाउन र अदालत धाउनेहरूले अहिले ठूला कुरा गरेको बताए।
नवौं महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष जसले पार्टीलाई प्रमुख हैसियतमा मात्र होइन मजबुत हैसियतमा पुर्याएको छ। सबैभन्दा ठूलो पार्टी बनाएको छ। जसले देशभरीको पार्टीहरूलाई मिलाएर झन्डै दुई तिहाइको शक्ति बनाएको छ उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नुभएन ? यस्तो तमासा दुनियाँमा काहीँ हुन्छ ?। तर अहिले पार्टी इतिहासकै मजबुत भएको ओलीले दाबी गरे। पार्टीमा भएका विकृति र विसंगतीहरूलाई पराजित गरेका छौं। पार्टीको विपक्षमा बोल्ने आदत बनेको थियो केही नेताहरूमा ती कुराहरूलाई विस्थापित गरेका छौं। आज पार्टी एउटै नीति र एउटै विचार र कार्यक्रममा एकढिक्का छ। एमालेमा आजको एकता दुनियाँका थोरै पार्टीहरूमा हुनसक्ने ओलीले बताए।