कर्णालीको झोलुंगेपुल चुडिएपछि स्थानियलाई समस्या, विद्याथिहरु पढाईबाट बञ्चित
काठमाडौँ । केही दिन अघि मात्र कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको पाँच घन्टापछि उद्धार गरिएको थियो ।
पुलमा फसेका दुइटा खच्चडलाई भने बचाउन सकेनन् । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका वडा–४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुल चुडिएसँगै यतिखेर आवतजावतमा बन्द गरिएको छ। झोलुंगेपुल नभएपछि स्थानीयबासीहरूको दैनिकी चलाउनै सकस परेको छ । खिड्कीज्युला बजारमा कर्णाली राजमार्ग बनेपछि केही सुविधा थपिएका थिए। यो पुलबाट ओहोरदोहोर गर्ने पञ्चदेवलको भाटगाउँ, कालेकाँडा लगायतका गाउँमा भने निकै विकटता छ। उनीहरुले खाद्यान्न, लत्ताकपडा किन्ने नजिकको बजार भनेको पनि दैलेखकै खिड्कीज्युला हो। यता बिद्यार्थीहरु नै पढाईबाट बञ्चित भएपछि तत्काल पुल बनाउन त्यहाका स्थानियले सबैमा अपिल गरेका छन । राज्यले यसतर्फ बिशेष चासो दिनुपर्ने माग उठिरहेका छ । सामान्य घरखर्च चलाउन र बिहान बेलुका छाक टार्न समेत कठिनाई भईरहेको छ । अरु बेलामा यसैगरी खच्चड हिँडाल्ने पुलमा आइतबार अस्वाभाविक रुपमा लठ्ठा चुँडिएको हो ।अछामको विद्यालयमा पढ्न जाने दैलेखका कयौं विद्यार्थीका लागि कर्णाली यही पुलबाट तर्थे।
अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडामा चण्डिका माध्यमिक विद्यालय छ । यो विद्यालयमा दैलेखको आठबीस नगरपालिका–६ र ४ का तल्लो गाउँका थुप्रै बालबालिका पढ्न्छन् । उनीहरुलाई आफ्नो पालिकाको विद्यालय जानुपरेमा डेढ घण्टा लाग्ने भएकाले अछामको विद्यालयमा पढ्ने गरेको थिए । उक्त झोलुंगे पुल तरेर अछामको चण्डिका माध्यमिक विद्यालयमा जान बढीमा १५ मिनेट लाग्छ। आफ्नै पालिका भित्रका विद्यालयमा जान ती गाउँका विद्यार्थीलाई डेढ घण्टासम्म लाग्छ।
हुम्ला, मुगु, बाजुरा, कालीकोट, अछाम, दैलेख, डोटी, सुर्खेत, कैलाली र बर्दिया भएर बग्ने यो नदीको तटमा थुप्रै बस्ती छन् । कर्णाली नदी जल पर्यटन तथा पर्यावरणीय हिसाबले महत्वपूर्ण मानिन्छ । तर बाह्रै मास बगिरहने यो नदीले नदीआसपासका नागरिकलाई वर्षौंदेखि पीडा दिइरहेको छ । दैलेख र अछामबीचको व्यापारिक, पारिवारिक र शैक्षिक सेतु बनेको थियो, यो पुल । हाल जीर्ण अवस्थामा पुगेको यो झोलुंगे पुल एक्कासी चुँडिएपछि तत्कालका लागि नै आवतजावतमा समस्या परेको स्थिानियहरु बताउँछन ।