नेपालका लागी १०० खेल खेलेर ऐतिहासिक कीर्तिमान राख्दै किरण

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा ५ खेल मध्य एक गोल पनि गर्न नसकेको नेपालले आज राति यमनको सामना गर्दैछ ।

अहिले सम्म एक गोल पनि गर्न नसके पनि नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ ऐतिहासिक कीर्तिमान नजिक पुगेका छन् । धनकुटाको एउटा सामान्य परिवारबाट उमेर समूह र सिनियर राष्ट्रिय टिम हुँदै नेपालको नम्बर वान गोलकिपर अनि हाल कप्तानीसमेत गरिरहेको किरण आफ्नो कीर्तिमानभन्दा पनि देशका लागि खेल्नु पाउनु सबैभन्दा गर्वको कुरा भएको बताउँछन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनविरुद्धको खेल खेल्दै किरण नेपालका लागि १०० खेल खेल्ने कीर्तिमान नजिक छन् ।

डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा किरणले हाल नेपालका लागि सर्वाधिक ९९ क्याप जितेका छन् । उनी अहिले नेपालको कप्तान र गोलकिपर दुवै भूमिका छन् । ३४ वर्षीय किरण वर्तमान नेपाली फुटबल टोलीको सबैभन्दा अनुभवी खेलाडी समेत हुन् । नेपाली टोलीको साउदी अरेबिया भ्रमणदेखि नै किरणले एक सय खेल पूरा गर्ने विषयमा चर्चा हुँदै आएको थियो । अब उनी त्यो दुर्लभ कीर्तिमानको निकै नजिक छन् ।र नेपालका लागि १०० खेल खेल्ने पहिलो फुटबलर बन्नेछन् ।

नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि ‘न्यूट्रल भेन्यू’ मा खेल्न लागेको हो । केही समयअघि एसियाली फुटबल महासंघ (एएफसी) का प्राविधिकले दशरथ रङ्गशालाको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरुले दशरथ रङ्गशालाको विषयमा आफ्नो प्रतिवेदन एएफसीमा बुझाएका थिए । सोही प्रतिवेदनका आधारमा एएफसीले अखिल नेपाल फुटबल संघ *(एन्फा) लाई पत्राचार गर्दै दशरथ रङ्गशालाको अवस्था विश्वकप छनोट खेलका लागि उपयुक्त नरहेकाले त्यो खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नु पर्ने जानकारी गराएको थियो ।

सोही आधारमा नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल साउदी अरबमा खेल्न लागेको हो । यसअघि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेल पनि साउदी अरबमै खेलिएको थियो । एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । त्यो समूहमा रहेका चारवटै राष्ट्रले पाँच–पाँच खेल खेलिसकेका छन् । पाँचवटै खेलमा विजयी भएको यूएई १५ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।

१० अंकसहित बहराइन दोस्रो स्थानमा रहेको छ । यूएई र बहराइन विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेका छन् । चार अंकसहित यमन तालिकाको तेस्रो स्थानमा आसिन छ । नेपालले भने पाँचवटै खेलमा हार भोगेको छ । हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन भने १८ गोल खाइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *