लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्षका निम्ति ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ११ अर्ब २४ करोड २७ लाख र पुँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । वित्तीय हस्तान्तरणका निम्ति तीन अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।
आउँदो वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वमार्फत सात अर्ब ५१ करोड २१ लाख र संघबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १२ अर्ब एक करोड ५० लाख र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड १७ लाख तथा स्थानीय तहबाट राजस्व दुई अर्ब ९२ करोड १९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री आचार्यले बताए । उनले संघ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब २८ करोड ६४ लाख, ससर्त अनुदानबाट चार अर्ब १८ करोड, समपूरक अनुदानबाट ७९ करोड, विशेष अनुदानबाट ७४ करोड र चालु आर्थिक वर्षको नगद मौज्दातबाट दुई अर्ब रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताए ।