बिहीबार नियमित बस्नुपर्ने मन्त्रिपरिषदको बैठक आज बस्दै
काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ । बिहीबार नियमित बस्नुपर्ने बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो ।
आज (शुक्रबार) अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको कृषिमन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । आजको बैठकमा विभिन्न ११ देशका राजदूत नियुक्ति गर्ने तयारी सरकारको छ । हिजो सिंहदरबारमा बसेको सत्तारुढ प्रमुख तीन दलको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएका छन् ।
गत जेठ २४ मा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।
बिहीबार साँझ २ घण्टासम्म भएको छलफलमा एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने शीर्ष सहमति भएको बताइएको छ ।
तीन नेताबीचको बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका असमझदारी छलफल गरेर टुंग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको थियो ।