राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर सुनले पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा राष्ट्रपति पौडेलले नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहेको भन्दै चीनको प्रशंसा गरे। उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित श्रेणीबाट स्तरोन्नति हुन गइरहेकाले त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।
उपविदेशमन्त्री सुनले पनि दुई देशबीच युगौँ पुरानो सम्बन्ध रहेको भन्दै सहयोग विस्तारमा चीन सकारात्मक रहेको प्रतिक्रिया दिए। सुनले बुधबार नै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गर्ने कार्यक्रम छ।