टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्कियो
काठमाडौँ । टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्किएको छ । टी-२० विश्वकप जितेको भारतीय टिम विहिबार बिहान नयाँ दिल्ली पुगेको हो ।
वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन ढिलाई भएको थियो । आँधीका कारण बारबाडोसका विमानस्थल पुर्णरुपमा बन्द भएको थियो ।
आज दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय क्रिकेट टिमलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आज प्रधानमन्त्रीको सम्मानपछि भारतीय टिम चार्टड उडानबाट मुम्बई पुग्ने छ । मुम्बईमा आजै क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । सो अवसरमा यस अघि बोर्डले घोषणा गरेको १२५ करोड रकम समेत हस्तान्तरण गरिने शुक्लाले बताएका छन् ।