फुड रियालिटी शो ‘सेफ नेपाल’को बाँकी एपिसोड बिहीबारदेखि

काठमाडौं । नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’को बाँकी भाग बिहीबारदेखि प्रसारण हुने भएको छ । यसअघि रोकिएका बाँकी एपिसोड बिहीबार, शुक्रबार र शनिबार कान्तिपुर टिभीमा प्रसारण हुने जनाइएको छ । आगामी शनिबार सेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धी शोको विजेता घोषित हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । शोका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेका अनुसार बाँकी भागमा दर्शकले अझै रोचक कुरा हेर्न पाउनेछन् । ललितपुर बुङ्मतीमा रहेको इन्डोर अम्युजमेन्ट पार्क दी वन्डरल्याण्ड बाँकी एपिसोडका लागि मुख्य प्रायोजकमा जोडिएको छ । सेफ नेपाल उत्कृष्ट रियालिटी शो भएकाले मनोरञ्जन विधामा हातेमालो गर्न प्रमुख प्रायोजकको रुपमा शोसँग जोडिएको कम्पनीका बजार प्रमुख शिखर बस्नेतले बताए । शोको बाँकी एपिसोडको होस्टको रुपमा रक्षा उप्रेती हुनेछिन् । जज (निर्णायक)मा बेलायती टिभी शो ‘मास्टर सेफ’बाट चर्चा बटुलेका सेफ सन्तोष साह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी छन् । १०० जना प्रतियोगी छनोट गरी सुरु भएको शोमा अब उत्कृष्ट आठ प्रतियोगीको प्रतिस्पर्धा हेर्न पाइनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *