बेवारिसे छाडिएको विश्वको सबैभन्दा अग्लो भवन
गोल्डिन फाइनान्स ११७ निर्माणकै क्रममा अपुरो छाडिएको ५९७ मिटर अग्लो गगनचुम्बी भवन हो । यो भवन चीनको सातौँ ठुलो सहर तियान्चिनको बाहिरी क्षेत्रमा छ । यसलाई सुरुमा तियान्चिनको विलासी रियल स्टेट प्रोजेक्टको रूपमा अगाडि बढाइएको थियो । सो भवन अहिले विश्वको सबैभन्दा अग्लो बेवारिसे भवनका रूपमा चर्चित छ । सन् २००८ मा यो भवन बनाउन सुरु गरिएको थियो । तर विश्वव्यापी आर्थिक मन्दीको असरले गर्दा त्यसको २ वर्षपछि नै निर्माण कार्य रोकियो । सन् २०११ मा पुनः यो परियोजनामा काम सुरु भयो । यसलाई सन् २०१८ देखि सन् २०१९ को बिचमा निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य थियो । तर सन् २०१५ को सेप्टेम्बरमा पुनः निर्माणको काम रोक्का भयो । त्यसयता अहिलेसम्म यसको काम सुचारु हुन सकेको छैन । निर्माणको काम रोकिँदा यो विश्वको पाँचौँ अग्लो भवन थियो । अहिले यो बेवारिसे अवस्थामा छाडिएको विश्वकै सबैभन्दा अग्लो भवन बनेको छ । यो भवन जमिनमाथि १२८ तलाको हुने बताइएको थियो । यसमध्ये ११७ तलालाई होटेल र व्यावसायिक स्थलका रूपमा र बाँकी ११ तलालाई मेकानिकल र सञ्चालन सेवाका लागि राखिने भएको थियो । जमिनभन्दा मुनि यो भवनमा अरू ४ तला थिए । तर अहिले यो भवन भूत बङ्गलामा परिणत भएको छ । यो भवनलाई चिनियाँ रियल स्टेट कम्पनी गोल्डिन ग्रुपले बनाउन थालेको थियो । त्यतिबेला सो कम्पनी चीनको रियल स्टेट बजारमा नयाँ खेलाडी थियो । बजारका कयौँ दाउपेच कम्पनीलाई थाहा थिएन । त्यसमाथि सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटले कम्पनीमाथि दबाब अरू बढाइदियो । सन् २०१५ मा भवन निर्माणको काम ५९७ मिटर माथि पुगेको उपलक्ष्यमा उत्सव पनि मनाइयो । तर त्यसपछि निर्माणको सबै काम रोक्का भयो । चीनको सेयर बजारमा मूल्य वृद्धिको फोका फुटेपछि गोल्डिनसँग आफ्नै सेयर मूल्यलाई ‘अफ्लोट’ राख्ने जगेडा पैसा समेत भएन । सेयर मूल्य घट्दै गएपछि कम्पनीसँग अपुरो भवन हेरेर बस्नु बाहेकको विकल्प थिएन । तियान्चिन जस्तो दोस्रो स्तरको सहरमा त्यति ठुलो विलासी परियोजना थाल्नु नै कम्पनीको खराब निर्णय भएको एकाथरी विज्ञ बताउँछन् । यसलाई एक विश्लेषकले न्यूयोर्कको हड्सन यार्ड्स फिलाडेल्फियाको बाहिरी क्षेत्रमा बनाउन खोज्नु भनेका छन् ।