अविरल वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण आज बिहान ११ः१५ बजेदेखि रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ ।

रोशी गाउँपालिका–११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको बाढीका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राजमार्ग अवरुद्ध हुँदा दुवै तर्फका सयौँ यातायातका साधन रोकिएका छन् । ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको जनाइएको छ ।

वर्षामा उक्त स्थानमा राजमार्ग अवरुद्ध हुँदै आउने गर्दछ । यस्तै वर्षाका कारण आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार माथिबाट आएको पहिरोका कारण अवरुद्ध उक्त सडक नेपाल प्रहरी र नेपाली सेनाको टोलीले एकतर्फी खुलाएको छ भने दुवैतर्फ खुलाउने प्रयास भइरहेको छ ।

उक्त राजमार्गको अन्य स्थानमा स–साना पहिरो गइरहने भएकाले तत्काल पहिरो पन्छ्याउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *