रुसका ७४ गाउँ कब्जा गरेको युक्रेनको दाबी
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रका ७४ वटा गाउँ कब्जा गरेको बताएका छन् ।
युक्रेनी सेनाले रुसी सेनालाई नियन्त्रणमा लिएर अगाडि बढिरहेको छ । युक्रेनले गरेको अकस्मात आक्रमणपछि दुई लाख रुसी नागरिक घर छोडेर भाग्न बाध्य भएको बताइएको छ । उनीहरुलाई सुरक्षित स्थानमा पठाइएको छ । युक्रेनले अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो । युक्रेनले अगस्ट १३ सम्म १ हजार वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको छ । न्यूयोर्क टाइम्सका अनुसार दोस्रो विश्वयुद्धपछि कुनै पनि देशले रुसको सीमामा घुसपैठ गरेको यो पहिलो पटक हो ।
२४ फेब्रुअरी २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धको मंगलबार ९०० दिन पूरा भएको छ । साढे दुई वर्षदेखि चलिरहेको यो युद्धमा पछिल्लो साता रुसका लागि निकै खराब सावित भएको छ । युक्रेनले पहिलो पटक रुसमाथि प्रहार गरेको छ । सीएनएनका अनुसार यो वर्ष रुसले जति युक्रेनी भूभाग कब्जा गरेको छ, त्यसरी मात्रै ७ दिनमा युक्रेनले कब्जा गरेको छ । अमेरिकास्थित युद्ध अध्ययन संस्थान (आइएसडब्लु) का अनुसार रुसले २०२४ मा युक्रेनको १,१७५ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको छ।
युद्ध सुरु भएको साढे दुई वर्षमा रुसले युक्रेनको १ लाख वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको छ । यो युक्रेनको कुल भूमिको १८ प्रतिशत हो । यसको जवाफमा युक्रेनले अब जवाफी हमला गरेको छ र रुसको तुलनामा आफ्नो एक प्रतिशत भूभाग कब्जा गरेको छ ।
यसअघि सोमबार रुसले युक्रेनी सेनाले आफ्नो २८ गाउँ कब्जा गरेको बताएको थियो । यस अवधिमा उनीहरूका १२ सर्वसाधारण मारिए र १२१ घाइते भए। कुर्स्कका गभर्नर एलेक्सी स्मिर्नोभले ६ दिनमा युक्रेनी सेना कुर्स्कको करिब १२ किलोमिटर लामो र ४० किलोमिटर चौडा क्षेत्रमा फैलिएको बताए ।