आच्छामे बाको पञ्चामृत
- संस्मरण
त्यो बेला गाउँमा पूजाआजा काम कर्महरू धेरै गरिन्थे । गर्न त अचेल पनि गरिन्छन् तर त्यो वेला औलोको बिगबिगी भएका कारणले जिन्दगीको कुनै ठेगान हुँदैनथ्यो र धर्म गरेरै मर्नका लागिहोला, पूजापाठका कामहरू त सबैका घरमा बाक्लै भइरहन्थे । त्यहीँमाथि बुधबारेको ‘जयपुर’ त झनै बाहुन बाहुल्य गाउँ थियो — त्यसैले कहिले कसकोमा त कहिले कसकोमा गरेर करिब करिब महिनामा २०/२५ दिनजस्तो त पूजाआजा नै परिरहन्थ्यो । अरू केही गर्न नसक्नेले पनि सत्यनारायणको पूजा त लगाइहाल्थे । काल–वेला नै एकदमै डरलाग्दो हुनाले “घरमा एक मन चामल छ भने जहानलाई नै बाँचुन्जेल खान पुगेर किरिया कर्म गर्नसमेत पुग्छ” भन्ने त भनाइ नै चल्तीमाथियो ।
हाम्रा छिमेकी आच्छामे बा (थामबहादुर लिम्बू) का घरमापनि त्यस दिन सत्यनारायणको पूजा लगाइएको थियो । ती बा कसरी ‘आच्छामे’ भए भन्नेबारेमा मलाई अझैँ पनि केही थाहा छैन । ‘अछाम’ बाट बसाइँ सरेर आएका त पक्कै पनि थिएनन् होला त्यति टाढाबाट— त्यो पनि यो जङ्गला मुलुकमा । उनको थर पनि ‘अछामी’ थिएन— शायद ‘योङहाङ’ थियो क्यारे— तै पनि ती ‘बा’ हामी सबै केटाकेटीका लागि ‘आच्छामे बा’ र गाउँका अन्य ठूला मान्छेहरूका लागि एक सिधासादा ‘आच्छामे लिम्बू’ थिए । नजिकैका छिमेकी हुनाले बिहान स्कूूल जानु भन्दा पहिला नै आज दिउँसो ‘आच्छामे’ बाका घरमा पूजा लगाइँदै छ भन्ने कुरो मैले थाहा पाइसकेको थिएँ ।
स्कूूल छुट्टी भएर फर्कंदा आच्छामे बाले मलाई पनि घरमा बोलाए । अघाउन्जेल सेल रोटी खानदिए । ‘पर्साद’भनेर अरू केही फलफूल र अपुङ्गो पनि ख्वाए र अन्त्यमा एउटा ‘पेला’ भनिने ठूलो गिलास भरि दूध ल्याएर खाइदिए । प्रथम दृष्टिमै त्यो दूध काँचो जस्तो लाग्यो र मैले ‘खान्नँ’ भनेँ । तर बाबैले कर लगाउँदै भने— “खा न खानातिकेटा, एकदमै मीठो छ क्या तेरो साँडे !”
तैपनि म अन्कनाई नै रहेको देखेर बाबैले फेरि थपे— “खा के मूला । यै खानुका लागि त बाहुन बोलाई–बोलाई यत्रो ठूलो पूजालगा’को । तेरा बाजेलाई नै सोधेर एस्मा हाल्नु पर्ने कुरा जति सप्पै हालेको छुङ् । एकदमै मीठो छ । लाखे है नभनीकन सप्पै खाइहाल त मुलाङ्खरे ।”
बाबैको कुरो हार्न नसकेरै मैले पनि त्यो बडेमानको पेला उचालेर पिउँन थालेँ । अचम्म, त्यो त पञ्चामृत पो रहेछ । मैले त्यति धेरै पञ्चामृत कहिल्यै पनि खाएको थिइनँ र आश्चर्य चकित भएर सोधेँ— “यति धेरै पनि पञ्चामृत हुन्छ त हजुरबा?”
अनि बडो जोशका साथ आच्छामे बाले भने— “बनाएपछि हुन्न त लाटा ? यी बाहुनहरू त लोभी’ र थोरै बना’का हुन् । जसको घरको पूजामा गए पनि तिरिक्क पारेर हत्केलामा २/४ थोपा मात्तै झारिदिन्छन् । खाँदा असाद्दे मीठो छ— तर अझैँ खान्छु भनेर थपिमाग्न पनि नपाइने रे’छ यी काठाहरूको माता । जाँगए पनि उस्तै चाला के ! कसैले पनि नथप्ने । अनि त दिक्क लागेपछि यो मीठो चिज पेटभरि खानुकै लागि भनेर आज आफ्नै घरमा सत्तेनारानको पूजालायुङ् क्यानातिकेटा ।”
मलाई आच्छामे बाको तर्क मन प¥यो । हो नि त, मीठो कुरो किन अघाउँजी नखाने ?आफैँ घरमूली भएपछि त जे गरे पनि हुनेरहेछ— मैले आच्छामेबाबाट आज यही कुरो सिकेँ ।
“अनि, खानुभयो त अघाउँजी ?” मैले पनि हँसिलो भएर सोधेँ ।
“पूजा त द्युँसो ट्याम्मै नै सक्किगो निहाउ । आन्तो, पर्साद र पञ्चामृत त द्युँसैदेखि खाकोखा’कै पो छुङ् हाउनातिकेटा । मैले त तीन गेलास पो बजाइसकेँ त हाउ यो पञ्चामृत भन्ने गुल्यो कुरो ता । ए, पञ्चामृत त अजै पो मनग्गे छ है, थप्छस् ?”
“म त थप्तिनँबा । अघाएँ ।”
“हामी लिम्बूका सन्तानले त जाँड खान छोडेर पञ्चामृत खा’का छौँ भने तँ त उपाद्दे बाहुनको पिउसो पो त हाउनाति । मज्जाले खा है । फेरि आर्को पूजाकाइले पो हुने हो— क्यै था छैना ।”
किन छोड्थे र बाले त्यति सजिलै ? मैले “हुन्नहुन्न”भन्दाभन्दै पनि बाबैले फेरि थपिदिइहाले ।
र, त्यो दिन नै जीवनको पहिलो र अन्तिम दिन थियो— जुनदिन आच्छामे बाले मात्र होइन, मैले पनि पञ्चामृतले नै पेट टन्न भरेर घर पुगेको थिएँ । किन अन्तिम पनि भने—अब त कसले यसरी नै पेटभरि पञ्चामृत खुवाउँछ र ?
यी सफामनका सोझा आच्छामे बा त्यहाँबाट बसाइँ सरीकनपनि धेरै पहिले नै बितिसक्नुभएको छ । तर मैले अभैm पनि बिर्सन सकेको छैन— मलाई मायागर्ने ती सोझा आच्छामे बालाई । हार्दिक श्रद्धाञ्जली छ प्रिय आच्छामे बा ! तपाईंको पवित्र आत्मालाई सुम्निमा र पारुहाङले रक्षागरून् । तागेरा निमाफुङ्माले तपाईंलाई सधैँ प्यारो गरून् ।