यो सरकार पनि पुरानै बाटोमा हिड्ने संकेत
काठमाडौँ । नेपाल सरकारको कार्यशैलीका कारण जनताले अनावश्यक सास्ती बेहोर्नु पर्ने अवस्था बारम्बार दोहोरिने गरेको छ । सरकार फेरिन्छ , व्यवस्था फेरिन्छ, मन्त्री परिवर्तन हुन्छन् तर पनि जनताको दुःख हट्दैन । जनताले काम गरेर खानलाई सरकारसँग सहयोग मागेका छैनन् । यद्यपि, रोजगारीको व्यवस्था गर्ने दायित्व सरकार कै हो । बेरोजगार भएर भौतारिरहेका जनतालाई बेरोजगार भत्ताको व्यवस्था गरेर भए पनि जीवनयापनलाई सहज गराइदिने काम सरकारको हो । तर सरकार त आफ्नो जिम्मेवारी बोध सम्म गर्दैन । पछिल्ला दिनमा त हल्लाखल्ला गर्ने, प्रोप्रोगाण्डा गरेर जनतालाई भुल भुलैयामा पार्न सक्ने हो भने मन्त्रीले कुनै काम नगरे पनि हुने स्थिति निर्माण भएको छ ।
भुटानी शरणार्थी प्रकरण , बालुवाटार जग्गा अपचलन र एयरपोर्ट सुन काण्डले मात्र देशको राजनीतिलाई होल्ड गरेर राखेको डेढबर्ष नाघिसकेको छ । मुलुकमा जतिसुकै ठुलो सङ्कट किन नआओस् यस्तै एकाध स्टन्टबाजी गरेर सामाजिक सञ्जालमा लोकप्रिय बन्ने होडबाजीमा सरकारका मन्त्री र पार्टीका नेताहरूको दिन बित्ने गर्छ । सरकार भनेको के हो , जनतालाई सरकार किन चाहिन्छ भन्ने सामान्य ज्ञान समेत नभएका मन्त्री , उपप्रधान गृह आदि मन्त्रालयको जिम्मेवारी सम्हाल्छन र एउटा पनि काम नगरी बिदा हुन्छन् ।
यस अघि पाँच महिना गृह मन्त्रालय सम्हालेका मन्त्रीले दैवी प्रकोपका घटनामा , पीडितलाई उद्धार , राहत र विस्थापितलाई पुनः स्थापना, घटनामा परेर ज्यान गुमाउने, घाइते हुनेको सम्बन्धमा सिन्को समेत नभाच्ने गृहमन्त्रीलाई सोसल मिडियाको अपचलन गर्नेहरूले सफल बनाई दिए । अहिले पनि त्यस्तै अवस्था दोहोरिने छाँट छ । प्राकृतिक दृष्टिले विविधयुक्त भए पनि , रमणीय दुष्य देखिए पनि जटिल भुवनोटका कारण पटक पटक समस्या पनि आउन सक्छ । नेपालमा त मौसम अनुसार नै थुप्रै समस्या आइलाग्छन । अहिले नेपालमा वर्षा ऋतु हो । वर्षा बढी हुँदा पनि दुःख नहुँदा पनि दुःख बेहोर्नु पर्ने नेपाली जनताले स्वाभाविक रूपले सरकारसँग अपेक्षा राख्ने नै भए । घरबार गुमेको हुन्छ , परिवारको सदस्य गुमाएको हुन्छ , धनसम्पती नाश भएको हुन्छ , बस्ने खाने केही हुँदैन त्यस्तो बेला सरकारले जनतालाई सहायता नगर्ने हो भने के हुन्छ ? सरकारले प्राकृतिक प्रकोपका घटनालाई त पैसा कमाउने ऐश आरम गर्ने अवसरको रूपमा लिने काम पो गर्छ । पीडामा परेका जनता जनतालाई सान्त्वना दिने, सहयोग गर्ने काम त परै जावस देशमा कहाँ के भयो भन्ने सम्म मन्त्रीहरूलाई थाहा हुँदैन ।
अहिले देशमा बाढी पहिरो, डुवान, कटानको समस्याका कारण जनजीवन तबाह भएको छ । कसैको घर डुबाएको छ , बगाएको छ , बाढीमा परेको छ , पहिरोमा त्यसको तथ्याङ्क समेत छैन । जनतालाई कसरी राहत दिने भन्ने कुरामा मन्त्रालय, मन्त्री सचिव कसैलाई पनि मतलब छैन । कहाँ डुवाएर कटानका घटना भए त्यसको सामान्य जानकारी समेत छैन । घटनाको जानकारी त छैन भने कसरी पीडित ले सहायताको आशा राख्न सक्छन यो अत्यन्त दुःख पक्ष हो । जिम्मेवार सरकारको चरित्र र व्यवहार होइन यो ।
केही दिन अघि सोलुखुम्बु जिल्लाको थामेमा हिम ताल फुटेर दुधकोशी नदीमा ठुलो बाढी आयो । स्थानीय प्रशासनको सक्रियताले गर्दा मानवीय क्षतिको घटना त भएन तर भौतिक क्षति भने निकै ठुलो मात्रामा भयो । त्यसमा एउटा रोचक घटना भयो । घटना के भने कोशी प्रदेश सरकारले थामे बाढी पीडितलाई एक लाख पचास हजार सहयोग गर्न सोह्र जनाको टोली लिएर सल्लेरी पुग्यो सिङ्गो गाउँ स्कुल घर , बजार बगाउँदा डेढ लाख राहत सहयोग पुर्याउन मात्र पाँच गुणा बढी खर्च झन् डरलाग्दो घटना हो । पश्चिम नेपालमा बाढी पहिरोका घटनामा ज्यान गुमाउने, घर पुरिएर एउटै परिवारका पाँच जना सम्मको ज्यान जाँदा पनि सरकारको उदासीनता र लापरबाहीलाई के भन्ने ? सरकारले आफ्नो उत्तरदायित्व बिर्सेर बस्नुलाई जनताले के ठाल्लान ?
वर्षाको मौसममा गृहमन्त्री , मन्त्रालय अन्य राजनीतिक काममा अल्झेर बस्नु नै गलत छ । मन्त्री अहोरात्र जनताको सुविधाको लागि , सहयोगका लागि लागिपर्नु पर्ने हो । तर मन्त्रीलाई प्रकोपको डर लाग्दो घटनाको बारेमा केही सूचना हुँदैन । मन्त्रीको ध्यान अन्यत्र नै छ , मन्त्रालयका कर्मचारी , सचिवको ध्यान कसरी पैसा कमाउने भन्नेमा छ । यस्तो प्रवृत्ति नयाँ भने होइन , सक्रियता निष्क्रियता भन्दा पनि देशभरिका स्थानीय प्रशासकसँग समन्वय गरेर तत्कालै उद्धार र राहतमा लाग्न निर्देशन दिने , दैवी प्रकोप कोषबाट तत्काल सहयोग उपलब्ध गराउने कामको नेतृत्व त प्रत्यक्ष रूपमा मन्त्री स्वयंले नै गर्नुपर्छ । तर लामो कालदेखि कुनै पनि गृहमन्त्रीले त्यसरी काम गरेको देखिएको छैन ।
प्रधानमन्त्रीको पदलाई राजनीतिका रूपमा हेरिने गरिएको छ । वास्तवमा त्यसलाई मुलुकको शान्ति सुरक्षाको दृष्टिबाट हेरिनुपर्थ्यो। अराजकता , अशान्ति , अन्योल , असुरक्षाको अवस्था अन्त्यको लागि गृहमन्त्री लागिपनुपर्छ र त्यसमा उनी सफल हुँदा राष्ट्र एकाएक धेरै अगाडि जान्छ । त्यसले सरकार नै सफल भएको मानिन्छ । अहिले गृह मन्त्रालय सम्हालेका रमेश लेखक मन्त्रीको रूपमा नयाँ होइनन् तर उनको ध्यान कसरी मुलुकमा सुशासन कायम गर्ने, शान्ति व्यवस्था बनाइ राख्ने, दैवी प्रकोप, स्वाभाविक र अस्वाभाविक दुर्घटनामा पर्नेहरूको हितमा काम गर्ने भनेर योजना बनाएर, नेटवर्क बनाएर काम गर्नुपर्ने हो । तर उनी पार्टीको काम, राजनीतिक जिम्मेवारीतिर नै बढी रुचि राख्छन भन्ने कुरा घटनाक्रमले प्रस्ट देखाएका छन् । यसरी सरकार सफल पनि हुँदैन , लोकप्रिय पनि हुँदैन ।
सरकारको लोकप्रियताभन्दा बढी उसको कार्य कुरा लता, चुस्त कार्यशैली, तत्काल जनताको सेवामा हाजिर हुने अवस्था भयो भने नै सरकार भएको अनुभूति जनताले गर्दछन् । विगतमा चर्का नारा लगाए पनि जनताले सरकार भएको अनुभूति गर्न पाएका थिएनन् । अब त्यो सरकारको आलोचनामा समय खर्च गर्नुभन्दा आफ्नो चरित्र , शैली र व्यवहार बदलेर जिम्मेवार र उत्तरदायी सरकारको भूमिका पुरा गर्नेतिर ध्यान दिने तर्फ पो सरकारले विचार पुर्यायोस