देशको आर्थिक स्थिति सुधार भएको हो ?
नेपाल राष्ट्र बैकले यही भाद्र २ गतेका दिन एउटा तथ्याङ्क सार्वजनिक ग¥यो । देशमा विदेशी मुलुकबाट भित्रिने रेमिटेन्स केही प्रतिशत बढेको र देशको ढुकुटी पनि अघिल्लो वर्षको तुलनामा केही सुधार भएको देखाएको छ। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । आयात १.२ प्रतिशतले र निर्यात ३० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको थियो ।
बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ६४ खर्ब ५२ अर्ब रुपैयाँ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विस्तृत मुद्रा प्रदाय १३.० प्रतिशतले बढेको छ । तथ्याङ्क अनुसार अर्थतन्त्रको बाह्य क्षेत्र थप बलियो अवस्थामा पुगेको छ । एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति ३०.४ प्रतिशतले बढ्दा बाह्य क्षेत्र बलियो भएको हो । शोधान्तर स्थित ५ खर्ब २ अर्बले बचतमा हुनुको साथै चालु खाताको बचत समेत निरन्तर बढ्दा समग्र विदेशी मुद्राको सञ्चिति बढेको हो ।
राष्ट्र बैङ्कले प्रकाशित गरेको देश वर्तमान आर्थिक स्थितिको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति बढेर १५ अर्ब २४ करोड डलर पुगेको हो । गत वर्ष असार मसान्तमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७१ करोड डलर थियो । हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले गत वर्षको आयातका आधारमा १३ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्नेछ ।
गत वर्ष १.२ प्रतिशतले आयात घटेको अवस्थामा रेमिटेन्स आप्रवाह १४.५ प्रतिशतले वृद्धि हुँदा समग्र बाह्य क्षेत्रमा ठुलो सुधार देखिएको हो । सरकार र नियामक निकायको मेहनतपूर्ण प्रयास भन्दा पनि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उच्च दरमा बढ्दा समग्र बाह्य क्षेत्रमा सुधार देखिएको हो । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दा एक तर्फ आन्तरिक खपत घटेको छ भने अर्को तर्फ रेमिटेन्स आप्रवाहमा सुधार भएको छ । यस्तै, अर्कोतर्फ उपभोग घट्दा आयातमा गिरावट आएको छ ।
गत आर्थिक वर्षमा नेपालले १५ खर्ब ९२ अर्ब रुपैयाँको आयात गर्दा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको आयात गरेको थियो । अघिल्लो वर्ष नेपालले १६ खर्ब १० अर्ब रुपैयाँ बराबरको आयात गर्दा १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको थियो । यस्तै, गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिटेन्स आएको राष्ट्र बैङ्कले जनाएको छ । अमेरिकी डलरमा गत वर्ष १० अर्ब ८६ करोड डलर रेमिटेन्स आएको राष्ट्र बैङ्कले प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख छ ।
रेमिटेन्स आप्रवाहमा भएको सुधार र आयातमा आएको गिरावटले गत वर्ष चालु खाता २ खर्ब २१ अर्ब रुपैयाँले बचतमा गएको छ । राष्ट्र बैङ्कका अनुसार गत वर्ष चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले बचतमा थियो । रेमिटेन्स आय, निर्यात तथा अन्य चालु प्रकृतिको आम्दानीले आयात धान्न पुग्दा चालु खाता बचतमा गएको हो । चालु खाता बचतमा हुँदा शोधानान्तर स्थिति (नेपालमा भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) ५ खर्ब २ अर्ब रुपैयाँले बचतमा छ ।
राष्ट्र बैङ्कले प्रकाशित गरेको तथ्याङ्क अनुसार रेमिटेन्स आप्रवाहमा भएको सुधारले अर्थतन्त्रको बाह्य क्षेत्र बलियो अवस्थामा पुगेको देखाएको छ । तर, आगामी दिनमा उच्च दर आयात बढ्दै गए हाल देखिएको बाह्य क्षेत्रको सुधार दिगो नहुने सम्भावना छ । आन्तरिक उत्पादन बढेर वा उपभोगको प्रकृति फेरिएर विदेशी मुद्राको सञ्चिति बढेको भए हालको सुधार दिगो हुने थियो । बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३ प्रतिशतले बढेको तथा निजी क्षेत्रमा जाने कर्जा ५।८ प्रतिशतले बढेको तथ्याङ्कले समग्र बैङ्किङ क्षेत्रमा ठुलो सुधार नभएको इङ्गित गर्छ ।
गत वर्ष १०.०३ प्रतिशत रहेको आधार दर ८ प्रतिशतमा झर्नुको साथै वाणिज्य बैङ्कको कर्जाको औसत ब्याजदर १२.३ प्रतिशतबाट ९.९३ प्रतिशतमा झर्नु उद्योगी व्यवसायीको लागी सकारात्मक छ । वाणिज्य बैङ्कहरूको औसत निक्षेप सङ्कलन दर ७.८६ प्रतिशतबाट झरेर ५.७७ प्रतिशत पुग्दा कर्जाको ब्याजदर घटे पनि निक्षेपकर्तालाई भने नोक्सान भएको छ ।
गत वर्षको औसत महँगी ५.४४ प्रतिशत भन्दा मुनी निक्षेपको ब्याज पुगिसकेकाले आगामी दिनमा फेरी निक्षेप खोसाखोस बढ्ने जोखिम छ । महँगी वृद्धिदर भन्दा बैङ्कको ब्याज कम भए पुँजी पलायन समेत बढ्ने जोखिम हुने गर्छ ।
एक वर्षमा साढे १४ खर्बको रेमिटेन्स भित्रियो
गत आर्थिक वर्षमा साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । आर्थिक वर्ष २०८०।८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३।२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।
आव २०८०।०८१ मा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।
‘हाम्रो अर्थतन्त्र दबाबमै छ’
यही सुधारलाई व्याख्या गर्दै कतिपयले देशको अर्थतन्त्रमा सुधार आएको बुझेको अर्थशास्त्री तथा पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षत्री बताउँछन् ।
क्षत्री भन्छन्, ‘जुन बेला नेपालको अर्थतन्त्र बिग्रियो भनेर हामीले भनेका थियौँ। त्यो बेला पनि नेपालको अर्थतन्त्र बिग्रिसकेको थिएन। अर्थतन्त्रका केही सूचकमा समस्या देखिएको थियो। जस्तै, विदेशी मुद्रा सञ्चितिमा दबाब देखिएको थियो। ‘रेमिटेन्स बढेको छ। तर, रेमिटेन्स अर्को वर्ष पनि बढ्छ वा बढ्दैन त्यो त हामी भन्न सक्दैनौँ। अर्को महिना नै घटेर आयो भने फेरि अर्थतन्त्र सङ्कटमा भन्ने अवस्था आउँछ। त्यस कारण अहिले पनि हाम्रो अर्थतन्त्र दबाबमै छ’, उनी भन्छन् ।
व्यापार घाटा, चालु खाता घाटालाई सुधार गर्न सके मात्र अर्थतन्त्र सुध्रिएको सङ्केत हो भन्न सकिने अर्थशास्त्रीहरूको बुझाई छ । मुख्यतया चालु खाता घाटा कम हुनु नै देशको अर्थतन्त्र सुधारतर्फ गयो भन्न सक्ने आधार रहेको जानकारहरूको बुझाई छ ।