बाबुको मुख हेर्ने दिनको महत्त्व र महिमा

काठमाडौँ । बाबुको मुख हेर्ने दिनलाई नेपाली संस्कृतिमा महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । जुन हरेक वर्षको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन पर्दछ । यस दिनलाई पितृ दिवसु वा गोकर्णे औँसी पनि भनिन्छ । नेपाली समाजमा बाबुलाई विशेष रूपमा अग्र स्थान दिइएको छ । यो पर्वमा बाबुप्रति श्रद्धा व्यक्त गर्ने दिन हो । बाबु जीवित भएमा उनीहरूको सम्मान गरिन्छ भने दिवङ्गत भइसकेका छन् भने पनि बाबुको सम्झनामा विशेष रूपमा श्रद्धा एवम् श्राद्ध गरी तर्पन दिएर सम्झने गरिन्छ । कुशे औँसीका दिन हिन्दु धर्मावलम्बीहरू वर्षभर देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर(घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधि अनुसार ब्राह्मणहरूद्वारा पूजा गरी जजमानहरू कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्छन् र ती बस्तुलाई श्रद्धा पूर्वक सम्मान पनि गर्दछन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ(आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा स्वादिष्ट भोजन खुवाई आदर सम्मान प्रकट गर्दै बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी पण्डित या पुरोहितलाई सिदा र दक्षिणा दान गरी स्वर्गीय बाबुलाई सम्झने गर्छन् । विशेष गरी आजको दिन उत्तर गया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको बेत्रावतीमा आ(आफ्ना दिवङ्गत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठुलो घुइँचो लाग्ने गर्दछ । पितृदेव भवु भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बाबुलाई श्रद्धा पूर्वक रुचि अनुसारको खाना खुवाई बाबुको मन प्रसन्न बनाई आशीर्वाद लिएमा सुख मिल्ने विश्वास गरिन्छ ।

बाबु परलोक भइसकेकाहरूले भने गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिधा दान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने वृत्तान्त बुद्धोक्त पाराजिकायु नामक पुस्तकमा उल्लेख गरिएको पाइन्छ। यस दिन छोराछोरीले आफ्नो बाबुलाई सम्मान स्वरूप नयाँ कपडा, मिठाइ, फलफूल आदि उपहार दिन्छन् र उनको दीर्घायुको कामना गर्छन् । विशेष गरी यस दिन छोराछोरीहरूले आफ्ना बाबुका लागि स्वादिष्ट व्यञ्जन तयार गरी खुवाउने गरिन्छ । यसरी स्वादिष्ट व्यञ्जन खाएपछि बाबु प्रसन्न भएर दिएको शुभ आशिर्वादले जीवनभर बाचुन्जेल सुख शान्ति मिल्छ भन्ने विश्वास रहेको छ । त्यसैले छोराछोरीले बाबुको मुख हेर्ने दिनलाई विशेष उत्सवकारसाथ मनाएर छोराछोरीहरूले बाबुको सम्मान र श्रद्धा गर्नु आफ्नो कर्तव्य हो भन्ने अनुभूतिका पुरा गर्छन् । जसका बाबु दिवङ्गत भइसकेका छन्, उनीहरूले विशेषतः गोकर्णेश्वर महादेव मन्दिर (काठमाडौँको गोकर्ण) अथवा अन्य पवित्र स्थलहरूमा गएर तर्पण दिने र पिण्ड दान गर्ने चलन छ । यसलाई पितृहरूको आत्मा शान्तिको लागि गरिने धार्मिक कार्य मानिन्छ । दिवङ्गत बाबुप्रति श्रद्धाञ्जली स्वरूप यसो गर्ने गरिन्छ । बाबुको मुख हेर्ने दिनले पारिवारिक बन्धनलाई अझ बलियो बनाउन, पुरानो पुस्ताप्रतिको सम्मानलाई पुनर्स्थापित गर्न, र परम्परागत धार्मिक अनुष्ठानहरूलाई जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यस पर्वले समाजमा बाबुप्रतिको माया र कर्तव्य बोध एवम् सम्मानलाई दर्साउँछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *