अमेरिकाले दियो संविधान दिवसका अवसरमा नेपाल र नेपालीलाई शुभकामना
काठमाडौँ । संविधान दिवसका अवसरमा अमेरिकाले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ ।
अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई अधिक महत्व दिएको जनाएको छ । विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट उक्त मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै , न्याय र प्रजातान्त्रिक मूल्यमान्यताको प्रवरद्र्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति भविष्यमा पनि निरन्तर सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको जनाइएको छ ।
विदेशमन्त्री ब्लिङ्केनले अमेरिकी जनता र सरकारको तर्फबाट संविधान दिवसको विशेष अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको हो ।