प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

काठमाण्डौं । बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन जलाएका छन् । सञ्चालक प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको विरोधमा उनका समर्थकले झापाका छुट्टा छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेको प्रहरी स्रोतले बताएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार आइतबार राति छुट्टा छुट्टै स्थानमा तीन वटा ट्रकमा आगजनी भएको थियो । आगजनीमा संलग्नको खोजी भइरहेको उनले बताए ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका ८ स्थित बिरिङ खोलाको पुलमा यूपी ५७ एटी ४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका हुन् । यो घटना आइतबार राति भएको थियो । सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका ६ मा डब्लूबी ७३ ई ३०५७ नम्बरको खाली ट्रकमा आगजनी गरेका छन् । झापाको धाइजनमा डब्लूबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट तीनवटै ट्रकमा क्षति पुगेको छ । प्रसाईंका समर्थकले सोमबार झापामा चक्काजामको घोषणा गरेका थिए । तर, सवारी आवागमनको अवस्था सामान्य रहेको दाहालले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *