अनियमिततावारे नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको हो ।
‘विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमिततावारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएको थियो’ अख्तियार स्रोतले भन्यो,‘तर कतिपय महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा पुगेर छापा मारेर कागजात लिनुपरेको हो ।
अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । संसदको सार्वजनिक लेखा समितिले पनि प्राधिकरणका परियोजनामा भएको अनियमितताको उजुरीमाथि छानबिन गरिरहेको छ ।