या देवी सर्वभूतेषु !
“ऊँ नमो भगवते रुद्राय ।।, “ॐ ऐं हीं क्लीं चामुण्डायै विच्चे ।।”
“गुप्ती नाम धरी सकी नगरमा पस्न्या बखत्मा पनि…”,महाभारत महाकाव्यमा वनबासमा गुप्त हुन सक्ने वर माग माग्दै युधिष्ठिरजीको मनमा भगवतीको साधना गर्न मन भएर “हे दुर्गे सबलाई वर् पनि दिन्या रुप् बालिकको धरी,…धारण गर्नु हुन्या म पर्दछु शरण् मङ्गल दिनुहोस भनी” भन्दै आराधना गर्नु भएको श्लोक बाल्यकालमा सुनेको जानेको थिएँ । इश्वर आफुप्रति समर्पित भक्तहरु कै बशमा हुनुहन्छ–“काम आदि मद दम्भ न जाकेँ । तात निरन्तर बस मैँ ताकेँ ।।(तुलसीदास गोश्वामी । रामचरितमानस ३।१६।१२) । भगवानलाई सम्झन कुनै विधि विधानको डोरीले बाँधी रहनु पर्दैन–‘नास्ति अस्य विधी’ भनेर उपनिषद् वचनमा प्रष्ट पारिएकोले यस दुर्गम कलिकालमा सवैको कल्याण हुने भएकाले जे जसरी जे जति गर्न सकिन्छ भगवानको नाम स्मरणको समपर्ण भावना तथा आत्मीय भावले आश्रय लिनुपर्छ,भगवान साधना समपर्णको भावना मनको भाव हेर्नुहुन्छ–बाहिर भक्तले के गर्छ,के कर्तव्य गर्छ भनेर ध्यान दिनुहुन्न जस्ता विचार धर्म सेवक विज्ञहरुले दिनु भएको पाइन्छ । नवरात्री–नौ रथ भरि ‘जुन देवी सबै प्राणीहरुमा चैतन्य तथा बुद्धिरुप भै विराजमान हुनुहुन्छ,उहाँलाई बैदिक सनातन बादीहरुमा हिन्दु सम्प्रदाय अन्तर्गत त्रिदेवलाई नै मान्नेहरु जो शक्तिको पुजापनि गर्ने गर्छन ले प्रणाम गर्दछौँ भन्दै नमोस्तस्यै नमो नमः उच्चारण गरेर मार्कण्डेय पुराण अनुशारको सवैभन्दा शक्तिशाली तथा सबै देवी उपशनाको आधार श्रीदुर्गासप्तशतीको पाठ गर्दछन् । सनातन धर्मालम्वीहरुको पर्व हो वडा दशैँ । वैदिक कालदेखी हालसम्म नेपाल शक्ति उपाशकहरुको पनि राष्ट्र हो । हिन्दु सम्प्रदायभित्र अनेक उपसम्प्रदाय भएपनि प्राय सबैले आआफ्नो तवरले देवीलाई साधना गरेका नै हुन्छन । भारतका प्रसिद्ध जे.कृष्ण मुर्तिले “भगवानको अर्थ सर्वशक्तिमान,न्यायधीस,सर्वगुणबाट भरिएको,सर्वज्ञ, अनन्त दयालु हो,प्राचिन युनानी देखि सुमेरियन सम्म मानव इतिहासमा मानिससँग भगवानको विचार छ” भन्नु भएको सन्दर्भमा आफुलाई भगवानप्रति विश्वास नभएका बुद्धिमान भन्नेहरुपनि आपत परेको बखत हे भगवान ! भनेर स्मरण गर्ने गरेको भेटिन्छ । साशकले आफ्नो सत्ता टिकाउन र बैश्विक प्रभुत्व विस्तार गर्न पनि धार्मिक संस्कारहरुको उपयोग गर्ने गरेकोे पाइन्छ । सेनेका भन्नु हुन्छ–‘धर्मलाई सर्वसाधारण सत्य मान्दछन्,बुद्धिमान असत्य,साशकवर्ग उपयोगी’ । ईश्वरको नाम र गुणहरुको कीर्तन प्राय सबै मनुष्यले गर्छन । नामहरु फरक हुन सक्छ,सबैले जुन नाम जपेपनि सबै नाम ‘परमात्मा कै हुन–भगवानकै नाम हुन । पानी–जल–वाटर–नीर–अप् जे भनेपनि पानी नै हो भनेर भारतका धर्म विचारक जयदयाल गोयन्दका भन्नु हुन्छ ।
हिन्दुहरुको महान चाड दशैँमा दुर्गालाई धेरै स्मरण गरिन्छ । दुर्गम दैत्य–दुरात्मालाई मारेको हुनाले दुर्गा भनिन्छ भन्ने अर्थमा दुःखले जानीने कुरा दुर्गम हो भन्ने मात्र हैन दुर्गा भनेको प्रकृति हुन । दुर्ग अर्थात सुरक्षा किल्लाको काम प्रकृतिले गर्छ । अनेक प्रकारले प्रतिहत–आहत भएको मनुष्यले प्रकृतिलाई साँच्चीकै रुपमा पाउन कठिन हुन्छ । विष्णुको ७७८ औँ नाम र्दुगम–दुःखेन गम्यते ज्ञायत इति दुर्गम र ७७९ औँ नाम पनि दुर्ग–अन्तरायप्रतिहतैर्दुःखादवाप्यत इति दुर्ग रहेको छ । अङ्क नौ शक्तिशाली अङ्क हो त्यो पार हुन शुन्य थप्नुपर्छ । नौ दिन हाम्रो शरीरको नौ द्वारसँगपनि सम्बन्धित छ । नौ महिना मानवीय सृष्ठिको गर्भीय अवधी पनि हो । नवदुर्गाको नौ स्वरुप भनेको स्त्री शक्ति,नारीको मनोविज्ञान तथा नारीको जन्म देखी परिपक्व एवं अभिभावकत्व सम्मको चरण हुन,मानिसका जीवनका चरणहरु हुन । नारी ब्रहण्डका शक्ति हुन । नारी आफैँमा अदभूत सिर्जना हो । अशोज कार्तिकमा पर्ने वडा दशैँको घटस्थापना प्रतिपदा देखि नवमीसम्म शरद–शारदीय नवरात्रीको रुपमा नौ दिनसम्म प्रत्येक दुर्गा–देवीहरुको नौ रुप–स्वरुपहरुको ध्यान,कीर्तन,अखण्ड दीप बालेर पूजा अर्चना,साधना आदि गर्ने गरिन्छ त्यसपछि कुमारी कुमारी कन्याको पूजागर्ने पनि चलन छ । यी नौ स्वरुपलाई नवदुर्गा भनिन्छ । मार्कण्डेय ऋषिले सम्पूर्णका पितामह ब्रह्माजीसँग मनुष्यहरुको रक्षा हुने उत्तम गोप्य उपायबारे जीज्ञाशा राखी आज्ञा गर्नु हवोस् भन्नु हुदा राख्नु हुँदा ब्रह्माजीले दुर्गाजीको कवचबारे यस्तो आज्ञा गर्नु भयो–“प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।। तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।३।। पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।। सप्तमं कालरात्रीश्च महागौरीतिचाष्टमम् ।।४।। नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीत्र्तिताः ।। उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मनाः ।।५।।”पवित्र नवरात्रिमा देवताहरुले पनि प्रभावशाली विधानको आचरण गर्दै देवीको प्रार्थना गरेकाले दैत्यहरुमाथी विजयी प्राप्त गर्न सकेका हुन भनेर विश्वास गरिन्छ । संक्षेपमा ‘शैब्रचकुस्काकामसि’ भनेर सुत्र बनाएर नव दुर्गाको नामको स्मरणरार्थ सहजता पनि गर्ने गरिन्छ । यी नवस्वरुपको सम्बन्धमा संक्षेपमा प्रस्तुत गरिन्छ ।
(१) देवी शैलपुत्री ः “वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम् । वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम् ।।१।। शिरमा अर्धचन्द्र र स्वर्ण–मुकुटले सुशोभित हुनुभएकी,वृषभारुढ–वृषभ स्थिति घुँडा खुम्चाएर पैताला–चरण तल पारेर बस्नु भएको । माता भगवती शैलपुत्री आफ्नो दाहिने हातमा त्रिशुल तथा वायाँ हातमा सुन्दर कमल–पुष्प धारण गर्नु हुन्छ” । पहाडपुत्री शैलपुत्रीको रङ्ग पहेँलो हो । बेसार पहेँलो औषधीय वस्तु हो । पहाडको पुत्री हुनु भनेको पहाड जस्तै मजवुत,कट्टर,वज्र,चहक दिने जस्तै हुनु हो । हरेक पिता माताले आफ्नी छोरी वा सन्तान पहाड जस्तै कशैले डगमगपार्न नसक्ने होउन भन्ने चाहन्छन् । मानिस जन्मदा २ हात लिएर जन्मन्छन् । जन्मदा पिताको नाम रहन्छ पछि न्वारन हुन्छ र पनि फलानाको सन्तान नै भनिन्छ । शैलपुत्रीका शान्ति र युद्ध दवैको लागि तयार हुनुपर्ने गरी दुई हात छन्–आधारभूत आदिम स्वरुप हो जल थल सहित ५ तत्व छन् माता शैलपुत्रीमा । नव दर्गामा प्रथम दुर्गा,माता दुर्गाको नौ स्वरुप मध्ये प्रथम स्वरुपमा देवी–भगवती शैलपुत्री नामद्वारा चिनिनु हुन्छ । पर्वतराज हिमालय–हिमवान की पुत्रीको रुपमा उहाँको घरमा जन्म लिनु भएर उत्पन्न हुनुभएकाले देवीको नाम शैलपुत्रीको रुपमा प्रसिद्ध भयो । सती नामले आफ्नो पूर्व जनमा उहाँ दक्ष–कन्याको रुपमा अवतार लिनु भएको थियो । त्यहाँ पनि उहाँले कठोर तपस्या गरी भगवान महादेवलाई प्रशन्न बनाई विवाह गरेर आफ्नो पतिको रुपमा पाउनु भएको थियो । पिता दक्षप्रजापतिले एक यज्ञ समारोहमा भोलेबाबालाई उपेक्षा अपमान गरेपछि आफ्नो पतिको विईज्जत भएको ठानेर योगाग्नीमा आफैँलाई भस्म गरिदिनु भयो । अहिलेको अर्को यस जन्ममा हिमालयको पुत्रिको रुपमा जन्म लिएर फेरि भगवान शङ्कर कै अर्धाङ्गिनी बन्नु भयो । मनोवाञ्छित सिद्धिको लागि नवरात्री पुजनको पहिलो दिन उहाँको पूजा र उपाशना गरिन्छ । चन्द्रमा सम्वन्धित दोषमा उहाँको पूजाले लाभ मिल्ने विश्वास गरिन्छ । यो नवरात्रीको प्रथम दिनको पूजा तथा उपाशनामा योगीहरु आफ्नो मनलाई ‘मूलधार चक्र’मा स्थित गर्दछन् र यहीबाट नै उनीहरुको योग साधनको शुरवात हुन्छ ।
(२) देवी ब्रह्मचारिणी ः “दधाना करपद्माभ्यामक्षमालाकमण्डलू । देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।२।। दाहिने हातमा जप–अक्ष माला एवं वायाँ हातमा कमण्डलु तथा शिरमा स्वर्ण मुकुटले सुशोभित ठिङ्ग उभिनु भएकी पूर्ण ज्योर्तिमय तथा अत्यन्त भव्य माता ब्रह्मचारिणी” । देवी ब्रह्मचारिणीको रङ्ग हरियो हुन्छ । हुर्केर विधालय जाने एवं विकाश गर्ने,त्याग तथा तप गर्ने उमेरको प्रतिविम्व हो यो रुप । हरेक मातापिता लक्ष्य सन्तान आचरणमा अडिग रहुन भन्ने चाहन्छन सेतो बस्त्रमा मन यताउती नडुलाएर माया मोह तथा भौतिकताको आशक्तिबाट मुक्त हुने र विधा आर्जन गर्ने सन्देश पनि हो । आर्युवेदमा ब्राह्मी औषधी तयार छ । माता दुर्गाको नौ शक्ति स्वरुपमा दोश्रो स्वरुप ब्रह्मचारिणी मानिन्छ । यहाँ ब्रह्म शव्दको अर्थ तपस्या हो–घोर तपस्या र धर्यको त उहाँमा पराकाष्ठा नै छ–कठिन तपस्याको चारिणी हुनु भएकाले अर्थात कठोर तपको आचरण गर्नु हुने भएकाले–भगवान शङ्करलाई पतिको रुपमा पाउन घोर तपस्या गर्नुभएकाले उहाँको प्रसिद्धि ब्रह्मचारिणी नामबाट भयो । ठूला–ठूला ऋषि मुनिहरु पनि उहाँको कठिन तपस्या देखेर दङ्ग पर्नु भएको थियो भन्ने विश्वास गरिन्छ । माताको उपाशना विधान अनुशार गर्दा मनुष्यमा त्याग,तप,वैराग्य,सदाचार,संयम,धर्यताको बृद्धि हुन जान्छ,जीवनको विषम परिस्थितिमा पनि सङ्घर्ष गर्न आँट पुग्छ र कर्तव्य पथबाट मन विचलित हुन्न । उहाको कृपा सर्वत्र सिद्धि एवं विजय प्रदान गर्ने खालको हुन्छ । नवरात्रीको दोश्रो दिनको ब्रह्मचारिणी देवीको पूजाले मङ्गल ग्रहको नराम्रो प्रभावबाट भक्तलाई मुक्ति हुन्छ । यश दिन साधकको मन ‘स्वाधिष्ठान चक्र’ मा स्थित रहन्छ । यश चक्रमा योगीले सहजै देविको रुप तथा भक्ति प्राप्त गर्दछन् । “दशमं ब्रह्मचारिणी” भनेर नारद पुराणमा सरस्वतीको स्तोत्रमा उल्लेख गरिएको पाइन्छ ।
(३) देवी चन्द्रघण्टा ः “पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता । प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।।३।। सिंह बाहिनी,मस्तकमा घण्टाकार–घण्टको आकारको अर्ध चन्द्र सुशोभित अर्थात चन्द आकारको तिलक,दश हात युक्तहुनु भएकी–दाहिने तर्फका चार हातमा अभय मुद्रा,धनुष,वाण तथा कमल सुशोभित तथा पाँचौँ हात वक्षस्थित मालामा भएकी–वाँया तर्फका हातहरुमा कमण्डलु,वायु मुद्रा,खड्ग तरवार,गदा ,त्रिशुल आदि शस्त्र–अस्त्रादिले विभूषित । कण्ठमा पुष्पहार,कानहरुमा स्वर्णभूषण तथा शिरमा स्वर्णमुकुट धारण गर्नु भएकी चन्द्रघण्टा देवी” ।
देवी चन्द्रघण्टाको रङ्ग खरानी खैरो प्रकारको हुन्छ । यो दक्षता–सीप आर्जन गरेको सम्पन्न स्वरुप हो । माता दुर्गाको तेश्रो शक्तिको नामको रुपमा नवरात्रीको तेश्रो दिनमा चन्द्रघण्टेति देवीको आराधना गर्ने गरिन्छ । माताको यो शक्ति स्वरुप परम शान्तिदायक तथा कल्याणकारी मानिन्छ । देवीको घण्टसमान भयानक चण्डध्वनीबाटै दुष्टहरु,अत्याचारी दानव,दैत्य,राक्षशहरु सदैव प्रकम्पित हुन्छन्,यी सवैको दमन एवं विनाश गर्न उहाँ सधैँ तत्पर रहनु हुन्छ । यश दिन साधकको मन ‘मणिपूर चक्र’ मा प्रविष्ट हुन्छ । उहाँ देवीको कृपाबाट आराधक–साधकलाई अलौकिक वस्तुहरुको दर्शन हुन्छ,दिव्य सुगन्धहरुको अनुधव हुन्छ, थरिथरिका दिव्य ध्वनीहरु सुनिन थाल्छन्, आराधक सिंहजस्तो पराक्रमी तथा सर्वत्र निर्भय हुन्छन् । भक्त,उपशकलाई माता चन्द्रघण्टाले भक्ति एबं मुक्ति दुवै प्रदान गर्नु हुन्छ,शुक्र ग्रहको नराम्रो प्रभावबाट समेत मुक्त गर्नु हुन्छ । “एकादशं चन्द्रघण्टा” भनेर नारद पुराणमा सरस्वतीको स्तोत्रमा उल्लेख गरिएको पाइन्छ ।
(४) देवी कूष्माण्डा ः “सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च । दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।४।। अष्टभुजा देवीको रुपमा विख्यात हुनु भएकी–दाहिने तर्फका हातहरुमा कमण्डलु,धनुष,वाण तथा कमल–पुष्पले सुशोभित र वायाँ तर्फका भुजाहरुमा अमृतपूर्ण कलश, जप माला,चक्र,गदा, रक्तयुक्त पात्र धारण गर्नु भएकी,शिरमा स्वर्णकुमुट तथा कानमा स्वर्णाभूषणले विभूषित सिंहमाथि आरुढ हुनुभएकी,शरीरको कान्ति सूर्यको समान देवीप्यमान देवी कूष्माण्डा” ।
माता कूष्माण्डाको प्रतिक सुन्तला रङ्ग हो । उहाँको स्वरुप प्रकृतिलाई अगाडी बढाउने खालको हुन्छ । गर्भवति महिला–माटोको कलश आमाको स्वरुप,गर्भको प्रतिक,अण्डलाई धारण गर्ने,आमाको पहिचान कायम गराउने स्थापित गराउने,पूरुषको गर्भादान गर्न सक्ने–प्राणको सृष्ट गर्ने । कु–ष्म–ण्डा अर्थात सन्तान धारण,बृद्धि गर्ने ममतामयी । औषधीय गुणले भरपुर कुभिण्डो पनि माताको मनपर्ने फल हो । आफ्नो मन्द तथा हल्का हँसाइ,मधुर मुस्कानद्वारा– आफ्नो ‘ईषत’ हँसाईबाट अण्ड एवं ब्रह्माण्डको निर्माण सिर्जना गर्नु भएको कारणले–उदर देखि अण्डसम्म ब्रह्माण्डलाइृ समेटेर त्यसको निर्माण गर्न सक्ने शक्ति पाउनु भएकी उहाँलाई सृष्टिको आदि शक्तिको रुपमो कीर्तित गरेर कूष्माण्डा देवीको नाममा पुजिने गरिन्छ । उहाँको उपाशना नवरात्री पूजनको चौथो दिन गरिन्छ । उक्त दिन अष्टभुजा देवीलाई कुभिण्डो चढाउने तथा कुभिण्डोको वलिपनि दिने प्रचलन भएको पाइन्छ । संस्कृत भाषामा कुभिण्डोलाई कूष्माण्डा भनिन्छ । देवीको उपाशना गर्दा साधकको मन ‘अनाहत चक्र’मा अवस्थित हुन्छ । अत्यन्त पवित्र एवं स्थिर मनले माताको स्वरुपलाई ध्यानमा राखेर पूजा,पाठ,कीर्तन,उपशना आदिमा लाग्दा साधक–आराधक–भक्तहरुको रोग शोक विनष्ट हुन्छ साथै आयु यश,बल एवं आरोग्यको वृद्धि हुने तथा सूर्यको कुप्रभावबाट बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।
(५) देवी स्कन्दमाता ः “सिंहासनगता नित्यं पद्माश्रितकरद्वया । शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।।५।। बाहन सिंहमा चढनु भएकी,पैँलेटी कशेर पध्माशन स्वरुप,चारहात हुनु भएकी,देवशत्रु तारकासुरलाई वध गर्ने वालक स्कन्द कुमार कात्र्तिकेयलाई दाहिने तर्फको हातले काखमा राख्नु भएकी,अर्को दाहिने हातले कमल–पुष्प धारण गर्नु भएकी,वायाँ तर्फका दुई हात मध्ये एक हातले कमल–पुष्प तथा अर्को हात वरमुद्रामा राख्नु भएकी,शिरमा सुन्दर स्वर्णमुकुट तथा दुवै कानमा स्वर्णभूषणले सुशोभित शुभ आर्शिवाद दिनु हुने देवी कात्र्तिकेय–स्कन्द कुमारकी माता देवी स्कन्दमाता” । देवी स्कन्दमाताको रङ्ग सेतो हुन्छ भन्ने विश्वास छ । हरेक माता पिताले आफ्नो सन्तान आँटीला शुरवीर हुन भन्ने चाहन्छन् । देवताहरुको सेनापति कुमार स्कन्दजस्तै सन्तान होस् भन्ने चाहनाको रुप हो । घटस्थापन देखि शुरु हुने पवित्र नवरात्रीको पाँचौँ दिनमा दुर्गाको पाँचौ स्वरुपको पूजा अर्चना गरिन्छ । उहाँको उपाशनाबाट भक्तहरुको समस्त इच्छाहरु पूर्ण हुन्छन तथा मोक्षको द्वार खुला हुन्छ । उहाँको कृपाबाट मुर्खपनि ज्ञानी हुन्छ,बुध ग्रहको नराम्रो प्रभावपनि पर्न सक्दैन भन्ने विश्वास गरिन्छ । यस पाँचौँ दिनमा साधकको मन ‘विशुद्ध चक्र’ मा अवस्थित हुने भएकाले समस्त बाह्य क्रिया तथा चित्त वृतिहरु प्रकट हुँदैनन् र विशुद्ध चैतन्य स्वरुपतिर साधक अग्रसर भै रहेको हुन्छ । साधकको मन समस्त लौकिक,सांसारिक,मायिक बन्धनबाट मुक्त भएर ध्यानवृतिहरुलाई एकाग्र गर्दै माताको पूर्ण साधनामा तल्लीन हुन्छ ।
(६) देवी कात्यायनी ः “चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना । कात्यायनी शुभं दद्याद्धेवी दानवघातिनी ।।६।। अत्यन्त भव्य स्वरुप भएकी,चार भुजायुक्त,सिंह–शार्दुल वाहन हुनुभएकी,चारभुजा मध्ये दायाँ तर्फको एक हातले अभयमुद्रा तथा अर्को हातले वरमुद्रा र वायाँ तर्फको एक हातले खड्ग–तलवार तथा अर्को हातले कमल–पुष्प धारण गर्नु भएकी राक्षश दानव घातिनि माता कात्यायनी (महर्षि कात्यायनले पुत्रि पाउने इच्छा गरेर भगवतीको घोर तपस्या गर्नु भयो र पुत्रिको रुपमा उत्पन्न भै पाउनु भएकाले कात्यायनी नाम रहेको भनेर पनि भनिन्छ भनेँ अर्कोतर्फ यस्तो कथा पनि छ कि ऋृषि कात्यायन काहाँ आश्विन कृष्ण चर्तुदशीका दिन जन्म लिएर सप्तमी–अष्टमी–नवमीका दिन गरेको पूजा माताले ग्रहण गर्नु भयो र दानव महिषाशुरको अत्याचार बढेपछि त्रिदेवले आफ्नो तेजको अंश दिएर देवीको सिर्जना गर्नु भएपछि शुक्ल दशमीको दिन माताले महिषाशुरको वध गर्नु भयो” । भगवती कात्यायनीको रङ्ग रातो हुन्छ भन्ने विश्वास छ । दायित्व तथा जिम्मेवारी लिएर आफ्ना सन्तानको सुरक्षा गर्ने,धर्यवान,स्वावलम्बन बनाउने,शान्ति र युद्ध दुवैको लागि तयार गराउने,स्वयं शक्तिवान वनाउने,पार्वतीको शक्ति लिनुभएकी । अधिष्ठात्री देवीको रुपमा समेत प्रतिष्ठित देवीको छैठौँ स्वरुप कात्यायनीको उपाशना पवित्र नवरात्रीको छैठौँ दिन गरिन्छ । माताको भक्ति,उपाशना,पूजा अर्चना गर्दा साधकलाई–मनुष्यलाई–आराधक भक्तहरुलाई धन अर्थ,धर्म,काम र मोक्ष चारै फलहरुको सहजै सुलभ हुन्छ । यश दिन साधकको मन ‘आज्ञा चक्र’मा अवस्थित हुन्छ । साधकले कात्यानीको चरणमा आफ्नो सर्वस्व निवेदित गर्दछन् भन्ने विश्वास गरिन्छ ।
(७) देवी कालरात्रि ः “एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता । लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी ।। वामपादोल्लसल्लोहलताकण्टकभूषणा । वर्धन्मूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी ।।७।। शरीरको रङ्ग आधकारजस्तै कृष्ण बर्णको,शिरको कपाल जगल्टा फिजाउनु भएकी,नासिकाबाट–श्वास प्रश्वासबाट अग्निको भयङ्कर मुस्लो ज्वाला निकाल्नु हुने,बाघको छालाले कम्मर मुनिमात्र ढाकेकी,पिठ्युलाई रक्त रङ्गको वस्त्रले ढाक्नु भएकी,नग्न शरीरकी गधा–गर्दभ वाहन हुनुभएकी,अत्यन्त भयानक स्वरुप हुनुभएकी,चार भुजायुक्त हुनुभएकी देवीजीको दायाँ तर्फको एक हात वरमुद्रा तथा अर्को हात अभयमुद्रा र वायाँ तर्फको एक शातमा फलाम–इस्पातको काँडा तथा अर्को हातमा खडग–परसा लिएर सुशोभित हुनु भएकी, माता पार्वती काल अर्थात जुनसुकै सङ्कट हरण गर्ने,शुभ फल प्रदान गर्ने शुभङ्करी देवी कालरात्री” । दुर्गा कालरात्रिको रङ्ग शाही निलो खालको हुन्छ । विकराल स्वरुप,क्रोध रुप,रात्रीको अन्धकार काललाई निल्ने,समय आएपछि स्त्रीको क्रोधकोे सीमा रहन्न अनि कुविचार,अत्याचार तथा अन्यायको विरुद्ध जस्तो सुकै विकराल व्यवहार गर्न तयार पार्नेगरी सन्तानलाई हुर्काउने,शरीर,मन तथा मष्तिस्क भौतिक एवं आध्यात्मक–साधनात्मक तवरले सवल पार्ने । सातौँ दुर्गा कालरात्रीलाई सातौँ दिन उपाशनाको विधान रहेको छ । नामबाटै रुप स्वरुप भयङ्कर डरलाग्दो देखिएपनि माता सदैव शुभ फलहरु प्रदान गर्ने प्रदात्री शुभकारी हुनुहुन्छ । नवरात्रीको सातौँ दिन साधकको मन ‘सहसार चक्र’ मा स्थित हुन्छ तथा यश दिन देवीको पूजागर्दा ब्रह्माण्डका समस्त सिद्धिहरुको ढोका खुल्न थाल्छन र सवै अशुरी शक्ति नास हुन्छन् । यस सहचार चक्रमा स्थित साधकको मन पूर्णत ः माता कालरात्रीको स्वरुपमा केन्द्रित रहन्छ ।“जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणी जय सर्वगते देवी कलरात्री नमोऽस्तु ते ।।२।। हे देवी ! हे चामुण्डे ! हजूरको जय होस् । प्राणीहरुको पीँडा हरण गर्ने भएकी,सम्पूर्णमा एक भाव भई रहेकी हे कालरात्री ! हजूरलाई नमस्कार छ” ।