’व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर’
ललितपुर । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको बताएका छन् ।
सोमबार विश्व वसोवास दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले संविधानले प्रत्याभूत गरेको नागरिकहरुको आवासको हक सुनिश्चित गर्नका लागि शहर विकास मन्त्रालयले काम गरिररहेको बताए । ‘नेपालको संविधानमा आवासको हकलाई मौलिक हकको रुपमा व्यवस्था भए अनुसार सीमान्तकृत, घरवारविहिन, सामाजिक आर्थिक रुपले पछि परेका नागरिकहरुको आवासको सुनिश्चितताको प्रत्याभूत गरिएको छ ।
यसका लागि शहरी विकास मन्त्रालय जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास कार्यक्रम तथा वस्ती विकास कार्यक्रमहरु सञ्चालन गरी ग्रामीण क्षेत्रका नागरिकलाई समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर रहेको छ ,’ उपप्रधानमन्त्री सिंहले भने ।
‘१६ औं आवधिक योजना, संघीय तथा प्रादेशिक र स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा पनि यसलाई उच्च प्राथमिकता दिईएको छ । शहरी विकास मन्त्रालय र यस अन्तर्गतका शहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार विभाग र संवद्ध निकाय तथा कार्यालयहरुले रोजगार तथा उत्पादनमूलक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर कार्यक्रमहरु कार्यान्वयन गरिरहेका छन् ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यसले देशको समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गरेको छ र यसका साथै युवाहरुको गतिशील र सृजनात्मक जीवनमा पनि महत्वपूर्ण टेवा पुग्नेछ ।’
युवा जनसंख्याको ठूलो, गतिशील र शक्तिशाली हिस्सालाई उचित शिक्षा, रोजगारमूलक सीप, उचित रोजगारका अवसरहरु उपलब्ध गराई उनीहरुको सृजनात्मक शक्तिलाई बृहत्तर राष्ट्रिय हितसंगसंगै समग्र शहरी विकासमा पनि समाहित गर्नु आजको प्रमुख आवश्यकता रहेको उनले बताए ।