भारतीय विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा एक जना पक्राउ
एजेन्सी । भारतीय वायुसेवा विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।
नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको हो । नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुठो खबर दिँदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार, महाराष्ट्र प्रहरीका डीसीपी स्वेता खेड्करको नेतृत्वमा भएको अनुसन्धान उन्केसम्म पुगेको थियो ।
उनले किन बम रहेको भन्दै आतंक सिर्जना गरे भन्ने हालसम्म खुलेको छैन । प्रहरीका अनुसार, उनले प्रधानमन्त्री कार्यालय, रेलवे मन्त्रीको कार्यालय, महाराष्ट्रका मुख्यमन्त्री लगायतलाई पनि इमेल पठाएको भेटिएको छ । उनी यसअघि पनि २०२१ मा पक्राउ परेका थिए । नेपालमा पनि सोमबार एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि केही घन्टा विमानस्थल अस्तव्यस्त बनेको थियो ।