संस्कृति र सभ्यतासँग जोडिएको तिहार पर्व
तिहार नेपालीहरूको घर आँगनमा भित्रिने दिन नजिकिँदै छ । विभिन्न क्षेत्र र समुदायमा विभिन्न तवरले तिहार पर्व मनाउने गरेको देखिन्छ । कसैले निधा रमा सप्तरङ्गी टीका लगाउँछन् भने कसैले सेतो र पहेँले रङ्गका टीका लगाउने गर्दछन् । यो बेला अन्य धेरै कुराहरूमा पनि विविधता देख्न सकिन्छ । कोही माछा मासु जाँडरक्सी आदि खान्छन् भने कसैको खानपान भिन्न हुन्छ । कोही जुवा तास खेलेका हुन्छन् भने कसैले देउसी तथा भैली खेल्ने गरेका हुन्छन् । महर्षि पातञ्जलीको योग सूत्रमा चित्त वृत्ति निरोधार्थ योगलाई मूल मन्त्र मानेर यम, नियम, आसन आदि योगका मूल सिद्धान्त वा सूत्रहरूको बारेमा गरिएका व्याख्या विवेचनाहरू गुगल खोजीमा प्रशस्तै पढ्न पाइन्छन् ।
यम भनेको पनि नियम हो, अनुशासन हो। नियम भनेको धर्म हो। नियम वा धर्म संहितालाई सामाजिक व्यवहार वा चलनचल्तीमा स्थापित गर्ने तत्कालीन समाजका अगुवालाई यमराज वा धर्मराज भनियो। सोही कालखण्डदेखि नै जीविकोपार्जन सँगसँगै मानव जीवन तथा सामाजिक सभ्यता विकसित हुदैगयो र तिहार तथा अन्य पर्वहरू मनाउने परम्परा चल्यो ।
तिहारको शाब्दिक अर्थ नै चाड वा उत्सव भन्ने बुझिन्छ। यो चाड कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल द्वितीयासम्म क्रमशः (१) कागतिहार, (२) कुकुर तिहार, (३) गाई तिहार, (४) गोरु तिहार र (५) भाइ तिहार समेत पाँच दिनसम्म मनाइन्छ । तिहारलाई यमपञ्चक समेत भनिने एवं पाँच दिनसम्म मनाइने परम्पराले मानव संस्कृति र सभ्यताको विकास क्रम के कसरी हुँदै आएको रहेछ भन्ने पनि देखाउँछ। डा जगमान गुरुङका अनुसार कागतिहारले मान्छेको घुमन्ते जीवनलाई प्रतिनिधित्व गर्छ।
जङ्गली युगमा आजको जस्तो सूचना प्रविधिको सुविधा त थिएन, कागको आवाज तथा उसको उडान दिशा वा स्थितिको आङ्कलनबाट मानवीय जनजीविकालाई आड भरोसा दिलाउने गरिन्थ्यो । कुकुरको सहयोगबाट सिकार गर्न होस् वा खानुहुने र खान नहुने कुराको अडकल गर्न गरिन्थ्यो । तत्कालीन घुमन्ते जीवनयापनमा मानिसको लागि कुकुर नै नजिकको साथी बनेको थियो । कुकुर तिहारले सोही बमोजिमको सभ्यताको प्रतिनिधित्व गर्छ । गाई तिहारले घुमन्ते जीवनशैली कालान्तरमा पशुपालनतर्फ आकर्षित हुँदै गएको भन्ने देखाउँछ । गाईको दूध पोसिलो तथा तागतिलो, गाईको गोबर र गहुँत मलिलो तथा औषधिजन्य गुणले भरिपूर्ण हुने भएकोले पशुपालनबाट जीवन गुजारा हुदैगयो। यसको साथै विनिमयको माध्यम पनि गाईबाट सुरु भयो। सोही समयदेखि नै गाईलाई गोधन भन्ने गरियो । क्रमिक विकाससँगै तत्कालीन मानव जीवन फलफूल तथा अन्नबालीतर्फ आकर्षित हुँदै गएको देखाउँछ ।
गोरुलाई सवारी साधन तथा खेती बाली लगाउने काममा समेत प्रयोग गरियो । कृषि युगमा रूपान्तरण हुने क्रममा गोरुको अत्यधिक महत्त्व रह्यो र गोरु पूजाको प्रचलनले कृषि युगको प्रतिनिधित्व गर्छ । यमपञ्चकको अन्तिम दिन भाइ तिहार वा भाइ पूजाको प्रचलनमा यमराज र यामीको कथा आउँछ । तत्कालीन समयमा एकाघर परिवार सदस्य वा आफन्तबिच समेत यौन सम्बन्ध हुने गरेको, एकापसमा वैवाहिक सम्बन्ध हुने गरेको अवस्था थियो । दाजु यमराज र बहिनी यामीले अब आइन्दा दाजुभाइ र दिदीबहिनी बिचको सम्बन्धलाई पवित्र नाता बनाउनुपर्छ भन्ने आशयले भाइ पूजा वा भाइ तिहारको प्रचलन सुरु भएको मानिन्छ ।
फादर अफ एन्थ्रोपोलोजी भनेर चिनिने इ बी टेलर पनि यो मान्नुहुन्छ कि मानवीय चेतना एवं ज्ञान विज्ञान, समाजमा एका आपसी विश्वास र नैतिकता तथा प्रचलनमा रहेका नियम र आनीबानी समेतको समग्रता नै संस्कृति तथा सभ्यता हो। प्रत्येक समाजमा सभ्यताको रूपान्तरण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्रमशः भइरहेको हुन्छ। यसै सन्दर्भमा हेर्दा तिहार पर्वसँग पनि मानव समाजको संस्कृति र सभ्यताको क्रमिक विकास जोडिएको छ भनी मान्न सकिन्छ ।
(लेखक सत्याग्रह साप्ताहिकका सम्पादक हुन)