नेपाल–बंगलादेशको खेल हेर्न टिकट काट्नेहरु बिहानैदेखि लाइनमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट किन्नेहरुको ललितपुरको जावलाखेलमा बिहानैदेखि लाइन लागेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले जावलाखेल चोकबाट बिहान ८ बजेदेखि टिकट बिक्री सुरु गरेको छ । तर आठ नबज्दैदेखि टिकट काट्नेहरु लाइनमा बसेका थिए । एन्फाले जावलाखेल मैदान र भद्रकालीको आर्मी गेटबाट टिकट बिक्री गरेको छ । यसपटक अनलाइनबाट नभई भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था एन्फाले गरेको छ । त्यसैले टिकट काट्नेहरुको लामो लाइन लागेको छ । यसअघि अनलाइन टिकट खरिद गरिसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ । फुटबल प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार जना अट्ने क्षमताको छ । तर ११ हजार थान टिकट मात्र बिक्री गरिने एन्फाको तयारी छ ।

जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले बताए । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ । एन्फाले टिकटमा पनि सीमितता तोकेको छ । जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै टिकट किन्न पाउनेछन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुने छ । तर दर्शकलाई साँझ ५ बजेभित्रै रंगशाला प्रवेश गरिसक्न एन्फाले आग्रह गरेको छ । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशाला जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *