रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गरिएको हो । रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप गरिएको छ । उनीहरुविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।
कात्तिक २ मा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।