मुलुक डरलाग्दो सङ्कटमा

काठमाडौँ । नेपालको राजनीति अहिले अकल्पनीय सङ्कटमा फसेको छ । के सत्तापक्ष के प्रतिपक्ष सबै आफ्नो अन्योलपूर्ण भविष्यलाई लिएर चिन्तित छन् । प्रधानमन्त्री सहभागी भएका सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्रीकै विरुद्ध नाराबाजी गर्ने, हुलदङ्गा गर्ने र घेरा हालेर मारि हाल्नुपर्छ भनेर सामाजिक सञ्जाल मार्फत आह्वान गर्ने जस्ता घटना सामान्य लाग्न थालेका छन् ।

एकातिर सत्तारुढ दल, सरकार र तिनका नेताले भ्रष्टाचार गरेर देशलाई वर्वाद गरे भन्ने आक्रोश चारैतिर व्याप्त छ भने अर्कोतर्फ भ्रष्टाचार, कानुनको उपहास, खुलेआम लुट र ठगीमा संलग्न रवि लामिछाने, वालेन्द्र साह, कुलमान घिसिङहरूको विपक्षमा एक शब्द पनि सुन्न नसक्ने जमात तयार छ । यसबाट नेपाली समाज कुन दिशातर्फ अभिमुख हुँदैछ भनेर छुट्ट्याउनै नसकिने स्थिति निर्माण भएको छ । कानुनी राजको वकालत गर्ने जमात अहिले सङ्गठित रूपले कानुन उल्लङ्घनमा सहभागी हुने तत्त्वको पक्षपोषण गर्दै छ । पुरानाले भ्रष्टाचार गर्दा हुने

, तिनले लुटेर खाँदा हुने अनि नयाँले चाहिँ किन नहुने भन्ने तर्कले भ्रष्टाचारको विरोध कि समर्थन हुन्छ भनेर छुटाउन नसक्ने जमात तयार भएको छ।

दोहोरो मापदण्ड, दण्डहीनता अराजकताद्वारा अन्योलग्रस्त अवस्थाको निर्माणले नेपालको अस्तित्व नै धरापमा पर्दै जाँदै छ । आफ्ना अपराध जन्य कृत्यलाई छोप्न सत्तामा पुग्न खोज्नेहरूको वार्गेनि ङ पावर बढेको अवस्था छ अहिले । के नेपाली जनताले यस्तै अवस्था चाहेका हुन त, यसरी नै मुलुकमा सुशासन, पारदर्शिता र विधिको शासन स्थापित हुन्छ त ? यस्ता अनेक सवालको जवाफ खोज्नुपर्ने अवस्था आएको छ । नेपाली जनताले शान्ति, समृद्धि र अमन चयन खोजेका हुन भने जस्तो सुकै भेषमा आउनेलाई पनि समर्थन नगर्ने अडान राख्नुपर्छ चेतनशील नेपालीले । तर दोहोरो मापदण्डमा चल्ने, आफूलाई नयाँ दल दाबी गर्ने र जान्ने ठान्ने जमातले नै देशलाई थप वरवादीतर्फ धकेल्दै छ । र, आफूलाई बुद्धिजीवी ठान्ने जमातले लाजै नमानी त्यसमा मदत गरिरहेको छ । यसले हाम्रो देशको इज्जत र प्रतिष्ठा मात्र दाउमा परेको होइन कि हाम्रो भविष्य समेत अन्योल ग्रस्त बन्न पुगेको छ । अब राजनीतिक दल निजामती र फौजी प्रशासन, नागरिक समाज, वृद्धिजीवी सबैले यसको बारेमा गंभिरतापुर्वक विचार विमर्श गर्नुपर्ने समय आएको छ ।

यो संविधान, व्यवस्था र स्थापित मूल मान्यतालाई यसरी सङ्कटमा पार्ने शक्तिको पनि भविष्य सुरक्षित रहँदैन । अहिले सहकारी ठगी पार्टीको रूपमा चिनिएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरूको त भाग्ने ठाउँ पनि छ । कोही अमेरिका, कोही पोल्यान्ड, कोही क्यानडा, कोही अन्य मुलुक पनि जाने ठाउँ भएका छन् । तर खड्ग ओली, प्रचण्ड , देउवालाई त त्यति सहज छैन भाग्न पनि । हालसालै अपदस्त भएकी बङ्गलादेशको राष्ट्रपति शेख हसिना विरुद्ध रेड कर्नर नोटिस जारी हुनुले त भागेर पनि सुरक्षित रहने सम्भावना कमजोर देखिन्छ । यहाँ सत्तामा रहँदा पनि सुरक्षित हुन सकिँदैन रहेछ भन्ने कुरा पनि घटनाक्रमहरूले स्पष्ट देखाइदिएका छन् । पूर्व उपप्रधानमन्त्री , गृह मन्त्री र वालवाला मन्त्री समेत त्यस्तो धन्धामा लागेर सुरक्षित हुने स्थिति हुँदैन रहेछ । टोपबहादुर रायमाझी र वालकृष्ण खाँणको उदाहरण पनि अब पुरानो भइसकेको छ । अघिल्लो दिनसम्म गृहमन्त्री रहेका रवि लामिछानेले भोलिपल्टै आफूलाई गिरफ्तारीबाट बचाइदिन हारगुहार गर्नुपर्ने अवस्था आयो । वाहालवाला प्रदेश मन्त्रिपरिषद् सदस्य लीला वल्लभ अधिकारी र केही समय अघि मात्र मन्त्री पद त्यागेका दीपक मनाङे भनिने राजीव गुरुङ समेत गिरफ्तारीबाट बच्न सकेनन् ।

नयाँ पुराना सबै ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेझैँ कुनै पनि भरोसा योग्य नभएपछि युवा पुस्तासँग विकल्प के बाकिँ रह्यो त ? जताततै बेथिति, भ्रष्ट्राचार र विसङ्गतिको राज चलेको वेला सुन्दर हिमाली देश नेपालको भविष्य सुनिश्चित गर्न कोही न कोही त अग्रसर हुनै पर्छ । त्यसमा मन वचन र कर्मले लाग्ने नेतृत्वको खाँचो पर्छ तर नेता आकाशबाट फुत्त खस्ने त होइन । नेपालको नेतृत्व गर्ने व्यक्ति कुनै विकसित देशबाट आएर गरिदिने पनि होइन । रवि एन्ड कम्पनीले झैँ नेपालमा जन्मेर पनि देशलाई माया मारेर विदेश गएका र आफूलाई टाठा बाठा ठानेर नेपालीलाई भेडा बाख्रा झैँ ठानी मौकामा चौका हान्ने दाउ पनि सफल नहुने रहेछ ।

राम्रो गर्नेले खुला र पारदर्शी रूपले प्रस्तुत हुने अहिलेको खाँचो हो । काजी भीम मल्लले आफ्ना राजा र आफ्नो देशप्रति राम्रै गरेका थिए । तर भारदारहरूको षडयन्त्रको सिकार भएर उनी काटिए, राम्रो गरे कि नराम्रो भन्ने यकिन नहुँदै । अहिलेको अवस्था त्यो भन्दा पनि डरलाग्दो छ । प्रत्येक व्यक्ति आफ्नै छायासँग डराउनुपर्ने अवस्था छ । राम्रो गर्दा पनि कसैले राम्रो गर्‍यौ भन्ने अवस्था छैन । अब यो देशमा पनि राम्रो हुन्छ भन्ने विश्वास दिलाउन सक्ने अवस्था गुज्रिसकेको हो कि भने जस्तो देखिन थालेको छ । जनतामा न आफ्नो कामप्रति विश्वास र भरोसा छ, न आफ्ना अभिभावक र अग्रजप्रति सम्मान छ । अहिलेको व्यवस्था, संविधान, कानुन, सरकार, संसद, न्यायलय कसैप्रति नत विश्वास छ न भरोसा । मुलुकको कर्मचारीतन्त्रले त झन् जनतामा अविश्वासको यति गहिरो खाडल बनाएको छ कि हत्तपत्त त्यसलाई पुर्न सक्ने स्थिति पनि छैन । यस्तो अवस्थामा नेपालीसँग वाकी बसेको विकल्प भनेको देश छोड्नु नै हो । ऊर्जाशील नेपालीले देश छोड्दा देशको हालत झन् दयनीय बन्नु पनि स्वाभाविक हो । देश विकास भएन, जनताले दुःख पाए भनेर गायत्री मन्त्र जप्नेहरूले आफ्नो अनुहार ऐनामा हेर्ने कि नहेर्ने ?

अहिले देशको अवस्था पञ्चायत कालको अन्तिम दिनको जस्तै बनेको छ । पञ्चायतको अन्तिम अवस्थामा आइजिपी डीवी लामा , फुल कर्नेल भरत गुरुङ बहालवाला मन्त्री हेमबहादुर मल्ल, पूर्व मन्त्री भीमप्रसाद गौचन भ्रष्टाचार र ज्यान मार्ने उद्योग आदि मुद्रामा जेल परेका थिए । आज दुई जना मन्त्री दुई जना प्रदेश मन्त्री केही पूर्वसचिव केही उच्चपदस्थ कर्मचारी कित जेलमा छन् कि जेल जाने अवस्थामा प्रहरी कस्टडीमा छन् । यसको सङ्केत के हो ? के यो व्यवस्थाको पनि अन्त्य निकट आएको त होइन ? यो अवस्थाको बारेमा सबै जानकार छन् । के राजनीतिक कार्यकर्ता, के कर्मचारी, के उद्योगी व्यापारी, के उद्यमी, के किसान मजदुर के सामाजिक कार्यकर्ता सबै यो समस्याबाट अनविज्ञ छैनन् । तर तिनको आफ्नो स्वार्थको रोटी सेक्ने हो भने भोलि निश्चित रूपले पश्चात्ताप गर्नु पर्ने अवस्था आउँछ ।

श्रीलङ्का र बङ्गलादेशको कथा हालेर आफू चाहिँ सुरक्षित रहेको अर्को पक्ष चाहिँ सङ्कटमा रहेको सन्देश दिन खोज्नेहरू कति मूर्ख छन् भन्ने थाहा पाउन त्यहाँको आर्थिक अवस्था हेरे हुने, तर कसैले पनि त्यति दुःख गर्न चाहेका छैनन् । राजनीतिक क्षेत्रका समस्या के हुन, कसरी यो क्षेत्र यति धेरै प्रदूषित भयो, कर्मचारीतन्त्र र अदालत कसरी भ्रष्टाचारको दलदलमा फस्यो, अब त्यो खोजेर कष्टकासाथ त्यसलाई दुःखबाट बाहिर निकाल्न जरुरी भएको छ । अरूलाई दोष दिएर आफू पानीमाथि ओभानो बन्ने प्रवृत्ति गैर जिम्मेवारीको चिनारी हो । दोष र गुण सबैका हुन्छन् । गुणलाई अपनाउने र दोष हटाउन प्रयत्न गर्नु वास्तवमा बुद्धिमान व्यक्ति हो । गुणैगुण र दोष नै दोष भएको कोही हुँदैन ।

अदालतलाई धम्क्याउने, विपक्षीमाथि दोष थोपार्ने, आफ्नो भुल स्वीकार नगर्ने, हुलदङ्गा, उछंशृखलता र अराजकताको बाटोबाट कोही पनि आजसम्म लक्ष्यमा पुगेको इतिहास छैन र अब झन पुगिदैन । राजनीति गर्ने, पदमा पुगेकालाई पनि कानुन लाग्छ, कानुनीराज भनेको कानुनको आँखामा सबै बरावर हुन भन्ने हो भने त्यसमा दोहोरो मापदण्ड जरुरी छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *