हिजबुल्लाहविरुद्धको लडाइमा बुधबार इजरायलको ठूलो क्षति

काठमाडौँ । हिजबुल्लाहविरुद्धको लडाइमा बुधबार इजरायलले ठूलो क्षति बेहोर्नुपरेको थियो ।

युद्धको क्रममा छ इजरायली सैनिकहरू मारिएको मिडिया रिपोर्टमा उल्लेख छ । दक्षिणी लेबनानमा भएको भिडन्तमा इजरायली सैनिकको मृत्यु भएको हो । योसँगै लेबनानमा हिजबुल्लाह विरुद्धको लडाईमा ज्यान गुमाउने इजरायली सैनिकको संख्या ४७ पुगेको छ ।

इजरायली मिडियाका अनुसार बुधबार इजरायली सैनिकहरूले एउटा गाउँमा छापा मार्दा भवनमा लुकेका चार हिजबुल्लाह लडाकूहरूले सैनिकहरूमाथि गोली प्रहार गरेका थिए । यस हमलामा सैनिकहरूले ज्यान गुमाएका थिए । इजरायली सेनाको जवाफी हमलामा चारै हिजबुल्लाह लडाकुको पनि मृत्यु भएको छ । आक्रमणमा ज्यान गुमाएका सैनिकहरू इजरायली सेनाको गोलानी ब्रिगेडको ५१ औं बटालियनका सिपाही थिए । यसअघि अक्टोबर २ मा लेबनानमा भएको आक्रमणमा आठ इजरायली सैनिकको ज्यान गएको थियो ।

इजरायली सैनिकको मृत्युमा इजरायली रक्षामन्त्री काट्जले हिजबुल्लाहविरुद्धको युद्धमा कुनै ढिलाइ नहुने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सैनिकको मृत्युप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । इजरायलले सेप्टेम्बर २३ मा लेबनानमा हिजबुल्लाह लक्ष्यहरू बमबारी गर्न थालेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *