प्रचण्डलाई कसले दण्डित गर्ने ?
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को भारतीय पत्रिका ‘द हिन्दु’ लाई दिएको एउटा अन्तर्वार्ताले मुलुकमा ठुलै हलचल ल्यायो । प्रचण्डले प्रधानमन्त्री खड्गप्रसाद ओलीको आसन्न चीन भ्रमणलाई लिएर गरेको टिप्पणीले नेपालको सार्वभौम सत्ता र स्वतन्त्रतालाई चुनौती दिएको धारणा आमरुपले स्थापित भएको छ । ‘द हिन्दु’ ले प्रम ओली भारतको भ्रमण नगरी चीन जानुलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले भनेका छन्, ‘ओलीले चाइना कार्ड प्रयोग गर्न खोजेका छन्, त्यो गलत छ’ ।
आफ्नो तर्फलाई पुष्टि गर्न प्रचण्डले नेपालका कुनै पनि प्रधानमन्त्री भारत नगई चीन जाँदा भारत रिसाउने, भारतको हितलाई ख्यालमा राखेर त्यस्तो गर्न नहुने थियो भनेका छन् । भारतसँग नेपालको संस्कृति, भाषा, धर्म सबै मिल्ने कुरा उल्लेख गर्दै उनले भारतलाई चिढ्याएर चीन जानु गलत भएको दाबी गरेका छन् । चिनियाँ नेता माओको नाममा राजनीति गरिरहेको माओवादी र त्यसका अध्यक्ष प्रचण्ड सुरुदेखि नै भारतको हितमा काम गरिरहेका छन् । प्रचण्ड मात्र होइन सिङ्गो पार्टी भारतको इसारामा चल्दै आएको छ । कथित जनयुद्धकलामा साना ठुला सबै नेतालाई भारतले नै आश्रय दिएको थियो । माओवादीका भातृसंगठनहरु समेत भारतकै हितमा काम गर्थे । भारतले पनि आधिकारिक रूपमै माओवादीलाई भारतभरि आश्रय दिएको थियो । भारतीय सेनाद्वारा माओवादी लडाकुलाई तालिम दिने, हतियार आपूर्ति गरिदिने जस्ता काम भएका थिए । भारतले आधिकारिक रूपमै माओवादीलाई नेपाल विरुद्ध गतिविधि गर्न भारतमा शरण दिएको कुरा प्राध्यापक एस.डी. मुनीको एउटा पुस्तकमा किटानसाथ उल्लेख गरेका छन् । भारतका एक जना प्रधानमन्त्रीको निर्देशनमा त्यस वेलाका माओवादी नेताहरू प्रचण्ड र बाबुरामले हस्ताक्षर गरी नेपालविरुद्ध सङ्गठित गतिविधि गर्न भारतमा बसी काम गर्न पाउन गुप्तचर संस्था ‘र’ लाई विन्तीपत्र नै हालेका थिए । पछि बार बुँदे सहमति पनि भारतीय शासक वर्गको संरक्षणमा नै भएको थियो । भारतले चाहेका वुदाँ मात्र राखेर गरिएको उक्त सहमति पनि नेपालको सार्वभौम सत्ता र अखण्डताको विरोधमा नै भएको थियो । सत्ताका लोभी र अस्थिर चरित्रका प्रचण्डले स्वघोषित भूमिगत जीवन त्याग गरे लगतै दिल्लीमा भएको एउटा पत्रिकाको कार्यक्रममा पाकिस्तान र त्यसको गुप्तचर संस्था आइएस् आइ विरुद्ध अभिव्यक्ति दिएका थिए । ‘हामी जनयुद्धमा भएको बेला आइएस् आइले सैनिक र हतियार सहयोग गछौँ भनेको थियो तर मैले मानिन’ , प्रचण्डले भनेका छन् ।
राजनीति र कूटनीति केही पनि थाहा नभएका जस्ता देखिने प्रचण्डको उक्त अभिव्यक्ति पनि नराम्ररी आलोचनाको विषय बन्यो । उनले पश्चिमाहरूलाई चित्त बुझाउन विदेशी लगानीकर्ताहरूको एउटा बैठकमा ‘वी आर राइटिष्ट कम्युनिस्ट’सम्म भन्न भ्याए । हतियार र पैसाको माध्यमबाट सारा सुख सयल जुटाउन सकिन्छ भन्ने मान्यता राख्ने प्रचण्डको राजनीतिक यात्रा हेर्दा उनी जाइ, करिष्मा आदिमा विश्वास राख्छन् । भारतको चाकडी गरेर चीनविरुद्ध विष वमन गरेपछि उनी तत्कालै सत्तामा फर्कने सपना देख्न थालेका छन् । उनले ३२ सिट साँच्चै लक्की भएको आफू वेटिङ्ग गार्मेन्ट भएको, सत्ता आफ्ना लागि टाढा नभएको अभिव्यक्ति दिँदै हिँडेका छन् । तर उनको ‘द हिन्दु’ को अभिव्यक्तिले उनलाई गंभिर रूपले धक्का लागेको छ । जाने मानेका कूटनीतिज्ञ, राजनीतिक पार्टी, नेता, सङ्घसंस्था सबै उनको विरुद्ध खडा भएका छन् । यहाँसम्म कि उनको पार्टीभित्र आँखा चिम्लेर विरोध गर्नेहरूले पनि अहिले उनको पक्षमा मुख खोल्न सकेका छैनन् ।
प्रचण्डको अभिव्यक्तिले राष्ट्र, परराष्ट्र मामिलालाई जुन धक्का दिएको छ, त्यो भन्दा गंभिर रूपले उनको पार्टीलाई सङ्कटमा फसाएको छ । यति हुँदासम्म प्रचण्ड त्यसलाई सच्चाउन तर्फ ध्यानै नदिई अब भारतले हामीलाई सत्तामा पुर्याउँछ भनेर रमाउँदै, नाच्दै हिँडेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेको भारतीय मुनरो डक्ट्नि प्रसङ्ग सेलाउन नपाउँदै प्रचण्डको भारत भक्तिको भद्दा र नाङ्गो तस्बिर एक पटक देशभक्त नेपाली सामु आएको छ । यसले दुई छिमेकीबिचको सम्बन्धको सन्तुलनलाई खलबल्याउने मात्र होइन पञ्चशीलको सिद्धान्तमा आधारित नेपालको परराष्ट्र नीतिमाथि पनि प्रहार गरेको छ । अघिल्लो पटक प्रधानमन्त्री हुँदा खड्ग प्रसाद ओलीले संसद् विघटन गर्दा काँग्रेस र हाम्रो अर्थात् प्रचण्डहरूको गठबन्धन सरकार भारतका लागि कन्फर्टेवल हुने दाबी पनि गरेका थिए । यसरी सधैँ भारतको हित सोच्ने प्रचण्ड र माओवादीको अहिले भारतलाई रिझाएर सत्तामा पुग्ने सपना बिपनामा बदलिने हो कि सपनै रहने हो हेर्न बाँकी छ । राष्ट्र विरुद्ध गंभिर अपराध गरेका प्रचण्डलाई उनको अभिव्यक्तिका कारण राज्य विप्लव वा त्यस्तै द्रोहको मुद्दा लगाउने कानुनी आधार नभए पनि नेपाली जनताले आगामी निर्वाचनमा उनलाई दण्डित गर्न सक्छन् । राष्ट्रघाती प्रचण्ड र उनको माओवादीलाई भारतको हितमा बोल्न र काम गर्न चुनाव जिताइरहनु पर्ने आवश्यकता छैन । यो कुरा नेपाली जनताले अहिलेदेखि नै ठान्नु पर्छ । नेपालको हितमा काम गर्नका लागि गंभिर, जबाफदेही, इमानदार र निष्ठावान् नेताको आवश्यकता पर्छ ।
तर त्यस्तो चरित्र अहिलेको मूल नेतृत्वमा देखिँदैन । वर्तमान नेर्तृत्वले देश र जनताभन्दा आफू, आफ्नो परिवार र दललाई मात्र केन्द्रमा राखेर काम गर्ने गरेको देखिन्छ । त्यस्तै, स्थितिले गर्दा देशमा चरम निराशाको स्थिति आएको हो । आर्थिक विकास दर निरन्तर घट्नु र युवाहरू बिदेसिने दर बढ्नुको कारण पनि हो । सरकार चलाउनेले कसैले चीनको कसैले भारतको, कसैले अमेरिकाको हितमा मात्र सोच्ने, नेपालको बारेमा नसोच्ने अवस्था झन् प्रस्ट देखिँदै छ । यो अवस्थाको अन्त्यका लागि युवापुस्ताले मेहनतका साथ राजनीतिमा काम गर्नु पर्ने भएको छ ।