विकासका नाममा जथाभाबी डोजर चलाउनु घातक : उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् ।

स्थानीय तहहरूले विकास निर्माणका नाममा जथाभावी डोजरलगायतका मेसिन प्रयोग गर्ने कार्य घातक भएको पनि उनको भनाइ थियो । काठमाडौंमा बिहीबार प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री सिंहले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरूको सामना गर्नुपरेको बताए । उनले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको बताएका छन् ।

नेपालको भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्र विकास निर्माणका काम गर्नुपर्ने भन्दै हतारमा मेसिनको प्रयोग गर्नु घातक हुने सिंहको भनाइ थियो । ‘गाउँपालिका तथा नगरपालिकाहरूमा जुन बाटो हामीले बनाइरहेका छौं त्यसका कारणले भूक्षय हुने, बाढी पहिरो जाने समस्याहरू देखिरहेका छौं । बाटो र सडक निर्माण मात्र विकास निर्माण र समस्याको समाधान होइन भन्ने गत असोजमा गएको बाढी, पहिरोले समेत पुष्टि गरिसकेको छ ।’

सिंहले भने, ‘यसकारण अब हामीले वातावरण र प्रकृतिमैत्री प्रविधिहरू प्रयोग गरेर बाटोहरू निर्माण गर्दा प्रभावकारी र राम्रो हुन्छ भन्ने मेरो बुझाई छ । त्यसमा पनि जुन हिसाबको हाम्रो भौगोलिक अवस्थिति छ, यसमा पनि हामीले गम्भीर भएर सोचेर मात्र विकास निर्माणका काम गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *