सोसल मिडियाको दुरुपयोग रोक
प्रविधिको विकासले मानव जाति जति धेरै लाभान्वित भएको छ, त्यो भन्दा ज्यादा समस्यामा पर्ने गरेको छ । विज्ञान र प्रवृत्तिको उपयोग गरेर संहारक अस्त्र शस्त्र निर्माण गरी डरलाग्दा विनाशका घटना घटाइएका छन् । दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा गराइएको आणविक बम विस्फोटन मानव सभ्यताको नमेटिने कलङ्क हो । पछिल्लो अवधिमा रुस युक्रेन युद्ध र इजरायलले प्यालेस्टाइन विरुद्ध गरेका घातक आक्रमणमा प्रतिबन्धित अस्त्र शस्त्र प्रयोग भएका छन् । अफगानिस्तान, इराक, सिरिया, लिविया समेतमा अमेरिकी आक्रमणमा पनि अनेक प्रकारका विनाशक हतियार प्रयोग भएका छन् ।
अहिले अत्यन्त घातक हतियारभन्दा पनि खतरनाक स्थितिमा सञ्चार क्षेत्रको दुरुपयोग हुने गरेको छ । ‘ए आइ’को प्रयोगले त झन् सोसल मिडियाको विश्वसनीयता नै समाप्त भएको छ । नक्कली काम गर्ने, दुई नम्बरी धन्धा गर्नेहरूले सामाजिक सञ्जालको व्यापक दुरुपयोग गरेका घटनाहरू व्यापक रूपमा हुने गरेका छन् । जापानमा बसेर रङ्गशालामा खेलाडीको मनोबल उठाउन गएका प्रधानमन्त्रीको हत्या गर्न उक्साउने सम्मका घटनालाई सामान्य रूपमा लिनेहरूले नै इन्टरनेट मार्फत अकल्पनीय दुष्कर्मलाई बढवा दिइरहेका छन् । अहिले नयाँ भनिने दल, तिनका नेता र स्थानीय सरकारमा स्वतन्त्र उमेद्ववारको रूपमा विजयी केही जनप्रतिनिधिले राज्य शक्तिको व्यापक दुरुपयोग गर्दै कानुन उल्लङ्घन गरिरहेका छन् । कानुनी राजको धज्जी उडाउनेको पक्षमा जनमत बढाउन तिनले युट्युब, फेसबुक लगायतका लोकप्रिय सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् । तिनले सामाजिक सञ्जाल मार्फत व्यक्तिको जीवन, घरपरिवारदेखि राज्यको संयन्त्रलाई नै ध्वस्त पार्ने सम्मका काम निरन्तर रूपले चालु राखेका छन् । उश्रृंखल गतिविधि गर्ने, मानव बेचबिखन, सोझा सिधा चेलीहरूको यौन शोषण, सङ्गठित गुण्डागर्दी, अपहरण, फिरौती धन्धा, हप्ता असुल आदि विकृतिजन्य काममा सोसल मिडियाको व्यापक दुरुपयोग भइरहेको छ । सामाजिक सञ्जालको दुरुपयोगले समाजमा अस्थिरता र अराजकता सिर्जना गर्ने, नेताहरूको चरित्रहत्या गर्ने, किर्ते र नक्कली काम गरेर जनमानसलाई भ्रमित गर्ने धन्धा व्यापक रूपले सञ्चालन भएको छ । रवि लामिछाने, बालेन्द्र साहजस्ता उश्रृंखल, आपराधिक मनोवृत्तिका व्यक्तिलाई रोल मोडलको रूपमा स्थापित गराउन सोसल मिडियाको दुरुपयोग गर्ने तत्त्वको सक्रियता प्रति सरकार निरन्तर उदासीन रहने गरेको छ । छुद्र सत्ता स्वार्थका लागि राजनीतिक दल र तिनका नेताहरूले स्वार्थी इच्छा पूर्तिका लागि त्यस्तो तत्त्वलाई निरन्तर प्रश्रय दिइनु पनि आजको अवस्था ल्याउन जिम्मेवार छ । अहिले त सरकार सञ्चालन गर्न, कानुन कार्यान्वयन गर्न र शान्ति व्यवस्था बनाइराख्न पनि सोसल मिडिया बाधक बन्दै जाँदै छ । यदि यसको सही प्रयोग गरेको भए यो प्रविधि समाज रूपान्तर गर्न, शान्ति सुरक्षा कायम राख्न र सुशासनको उद्देश्य पुरा गर्न साधक हुने थियो । प्रवृत्तिको सही प्रयोगले सिङ्गो मानव जाति लाभान्वित हुन्छ तर त्यसको दुरुपयोगले विनाश लीला निम्त्याउँछ । सञ्चार संयन्त्र इन्टरनेट र ‘ए आइ’ आदिको प्रयोगलाई कानुन सम्मत र मानव जीवन उपयोगी बनाउन सरकारको प्रयास अपर्याप्त छ । पर्याप्त र प्रभावकारी ढङ्गले यसलाई व्यवस्थापन गर्नेतर्फ सरकारको प्रयास निकै कमजोर देखिएको छ । जसले संविधान र कानुन कार्यान्वयनमा बाधा उत्पन्न भएको छ । यो बाधालाई हटाउन सरकारी संयन्त्र प्रभावशाली, सक्षम र डाइनामिक बन्नु आवश्यक छ ।
वर्तमान साइवर कानुन पनि कमजोर छ । ‘साइवर ल’ को त्यही कमजोरीको फाइदा उठाएर समाजलाई आतङ्कित पार्ने, आफ्नो निहित स्वार्थ पुरा गर्ने तत्त्वले कामयाबी हासिल गरिरहेको छ । सामाजिक सञ्जालको गलत प्रयोगले भीडलाई उत्तेजित पार्ने, हुलहुज्ज्त गर्नेहरूको शक्ति निरन्तर बढिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू केही आपराधिक धन्धामा संलग्नहरूलाई जोगाउन सफल पनि भएका छन् । यो सरकारको नालायकीकै कारणले भएको हो । यदि समय छँदै यसलाई नसुधार्ने हो भने भोलि सरकार भन्ने चिजको अस्तित्व नै नरहने गरी मुलुक भयावह दुर्घटनामा फस्न सक्छ । त्यसैले सरकार र जिम्मेवार राजनीतिक दल गंभिर बन्नु जरुरी छ ।