रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । रवि लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अनुमति दिएको छ । लामिछाने र जोशीविरुद्ध चितवनको सहरा बचतको रकम अपचलन आरोपमा चितवन जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको लामिछानेमाथि आरोप लागेको छ । पोखराको सूर्यदर्शन सहकारीबाट करिब ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको छ ।

संसदीय छानबिन विशेष समितिले पनि उनीहरुलाई दोषी देखाउँदै थप अनुसन्धानका लागि सिफारिस गरेको थियो । समितिको सिफारिस लगत्तै रवि र छविलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ भने जीबी फरार छन् । अहिले लामिछानेजिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *