रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन बजारमा
काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले बुधबार क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ । ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रूपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुने अल्फा अटोमोटिभले जनाएको छ । ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्ने जनाइएको छ । यसको फराकिलो सिट प्रोफाइल र नरम फम कुशन प्याडिङले लामो यात्रामा आराम दिने कम्पनीको दावी छ । नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् ।
त्यसैगरी, नयाँ पाइलट लाइटहरू भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन् । बाइकको अगाडि रहेको ३०० एमएम डिस्क ब्रेकसँग ट्वीन्स पिस्टन फ्लोटिङ क्यलिपर र पछाडि रहेको २७० एमएम डिस्क ब्रेकसँग सिङ्गल पिस्टन फ्लोटिङ क्यलिपरले ब्रेकिङ पद्धतिलाई झन् सशक्त बनाउनेछ। यसको मूल्य ५ लाख ५५ हजार ६०० रहेको छ । नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा बिक्री खुला गरिएको छ । नजिकको रोयल इन्फिल्डको सोरुममा गएर यसलाई अवलोकन र टेस्ट राइड गर्न सकिन्छ ।