नेपालमा भारत–चीन भन्दा युरोप–अमेरिकाले धेरै खेल्न खोज्दै छन् ?
काठमाडौ । अनेक प्रयास गर्दा पनि भारतले निम्तो नदिए पछि प्रधानमन्त्री खड्ग प्रसाद ओलीका निम्ति चीन भ्रमणमा जानू केही बाध्यता र केही भारतलाई घुर्क्याउन पनि आवश्यक परेको थियो । यही मौकामा भारतको नजरमा ओलीको पत्ता साफ पारेर सत्तामा फर्कने अवसर आयो भनेर प्रचण्ड भन्ने मानिसले जीउ नै छोडेर देखाए । यो हो नेपालका नेताहरूको असली अनुहार । तर केही समय यता भारत र चीनको बिचमा खेलेर सत्तामा पुग्न चाहने नेताहरू र भूपरिवेष्टित नेपाललाई घेरेर बसेका विशाल र शक्तिशाली दुवै छिमेकीको भूमिका सत्ताको वरिपरिमै खुम्चिन थालेको छ ।
चीन भन्दा पनि कुनै समयमा भारतको एकलौटी प्रभाव निरन्तर खुम्चिँदै, कुनै नेतालाई सत्तामा पु¥याउने र कुनैलाई सत्ताबाट हटाउने भन्नेमा सीमित छ । जसले गर्दा प्राय सबै पार्टीका नेताहरू र भारत जनस्तरबाट टाढिएको मात्रै छैनन् दुवै प्रति जनता रुष्ट र विरोधमा छन् । नेपालको सामरिक महत्त्व निकै बढिरहेको बेलामा यसरी भारत र आफ्नै नेतासँग व्यापक जनता रुष्ट र आक्रोशित भएको मौकामा तेस्रो शक्तिले ठाउँ लिइरहेको छ। अमेरिका वा युरोपबाट पढेर आएकाहरूलाई छोटो समयमै निर्वाचनमा जिताउन गाउँ गाउँमा रहेका आइ.एन.जी.ओ र एन.जी.ओ, युरोप र अमेरिकामा बसोबास गरेका नेपालीहरू र अमेरिकी गुप्तचरको भूमिका कति प्रभावकारी हुदोरहेछ भन्ने उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीले देखाइ सकेको छ। यसरी सामरिक महत्त्व बढिरहेको बेलामा भारत र चीन जस्ता विशाल शक्ति राष्ट्रले घेरिएको नेपालमा तेस्रो शक्ति यति मजबुत अवस्थामा हुनु कसको कमजोरीले हो ? यसले सबैभन्दा बढी असर कसलाई पुग्छ? यसमा चीन भन्दा पनि भारतले समयमै सोच्न जरुरी थिएन? नेपालको स्थापित आन्तरिक शक्ति केन्द्र राजसंस्थालाई हटाउन र हिन्दु राष्ट्रलाई हटाएर जुन क्षणिक तुष्टीमा रमाएको भारत र राजा गए पनि आफ्नै जात भाइ कम्युनिस्ट आउने त हुन भनेर राष्ट्रपतिको वैधानिक टुङै नलागी हत्तपत्त ओहदाको प्रमाणपत्र चढाउने चीन दुवैले अहिले त बुझ्दै होलान् ।
तिनै कम्युनिस्ट हुन एम.सी.सी ल्याउन जोड गर्ने। नेपालले त जे भोग्ला भोग्ला तर आजको विश्व अवस्थामा उनीहरूको लागि पनि सानो चुनौती होइन यो। ठुला र शक्तिशाली देशले पनि सधैँ बुद्धि पुर्याउछन नै भन्ने नहुँदो रहेछ । अन्यथा दस वर्ष पछि आउन सक्ने कुरा पनि देख्न नसक्नुलाई के भन्ने ? अब नेपालको राजनीतिमा भारत र चीन मात्रै निर्णायक शक्ति हुन भन्ने रहेन । अझ भारतले त ओलीमा अल्झिनुको कुनै अर्थ छैन ।