यू-१९ एसिया कप : बंगलादेशसँग १४१ रनमै अलआउट भयो नेपाल
काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर बंगलादेशले बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । नेपालले बंगलादेशविरुद्ध कमजोर ब्याटिङ गर्दै ४५.४ ओभरमा १४१ रनमा अलआउट भयो । युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा १४१ रनमा समेटिएको हो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन जोडे । ७७ बलको सामना गरेका उनले ५ चौका हिर्काएका थिए ।
मयन यादव र नरेन भट्ट समान ४ रनमा आउट हुँदा सन्तोष यादव ७ र अर्जुन कुमाल शून्य रनमा आउट भए । अभिषेश तिवारी र उत्तम मगरले २९–२९ रन बनाए ।
बलिङमा बंगलादेशका रिजन हसन, इकबाल हुसेन इमन र अल फहादले दुईदुई विकेट लिए । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।