काठमाडौं महानगरपालिका १६ मा रास्वपाको विजयी र्याली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिका १६ मा विजयी र्याली निकालेको छ ।
आइतबारको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अध्यक्ष उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएपछि विजयी र्याली निकालेका हुन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जित हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।
रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका थिए भने कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भएका थिए । यस्तै, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका थिए ।